नयाँ वृन्दावन गौशालामा शिवालय मन्दिरको प्राणप्रतिष्ठा तथा “सेवाका सारथी” पुस्तकको लोकार्पण हुँदै
नयाँ वृन्दावन गौशालामा शिवालय मन्दिरको प्राणप्रतिष्ठा तथा “सेवाका सारथी” पुस्तकको लोकार्पण हुँदै
सुन्दरहरैँचा
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित नयाँ वृन्दावन गौशालामा यहि वैशाख १८, १९ र २० गते विशेष धार्मिक तथा साहित्यिक कार्यक्रमको आयोजना हुँदैछ। कार्यक्रमअन्तर्गत शिवालय मन्दिरको प्राणप्रतिष्ठा तथा समाजसेवी एवं सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख रामप्रसाद काफ्लेको जीवनीमा आधारित पुस्तक “सेवाका सारथी” को लोकार्पण गरिने भएको छ।
कार्यक्रमबारे जानकारी दिन मंगलबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरेको थियो। सम्मेलनमा नयाँ वृन्दावन गौशालाका संस्थापक संरक्षक दिनबन्धु शास्त्रीले शिवालय मन्दिरको प्राणप्रतिष्ठा पं. भवानीशंकर निरौलाको हातबाट गरिने जानकारी दिए। उनले मन्दिरमा प्रतिस्थापन गरिने भगवानको मूर्ति भारतीय कलाकारद्वारा हस्तकलात्मक प्रविधिबाट निर्माण गरिएको र चन्दादाताहरूको सहयोगमा खरिद गरिएको उल्लेख गरे।
पुस्तक “सेवाका सारथी” को लोकार्पण वैशाख २० गते दिउँसो ११ बजे हुने जनाइएको छ। उक्त पुस्तक नयाँ वृन्दावन गौशालाका लागि गौशालाकी अध्यक्ष श्रीमती गङ्गादेवी काफ्लेले प्रकाशन गरेकी हुन्। पत्रकार सम्मेलनमा पुस्तक काफ्लेको जीवन संघर्ष, शैक्षिक योगदान र सेवाभावलाई समेटिएको प्रेरणादायी कृति भएको बताइएको छ।
कार्यक्रममा दुई प्रमुख क्रियाकलाप बाहेक तेस्रो एउटा ऐतिहासिक योजना पनि रहेको उल्लेख गरिएको छ। हाल त्यो योजना तयारीको चरणमा रहेको भए पनि निकट भविष्यमा कार्यान्वयनमा ल्याउने उद्देश्य लिइएको छ। सो योजना विज्ञान गृहको निर्माणसँग सम्बन्धित रहेको र त्यसका लागि नेपाल ज्योतिष परिषद, कोशी प्रदेशसँग सहकार्य भइरहेको जानकारी दिनबन्धु शास्त्रीले दिए।




