सहकारी लेखा तालिममा गीतमार्फत सिकाइ, सहभागीहरू उत्साहित

एलएन गच्छदार / चैत्र २६ गते 

सुन्दरहरैंचा नगरपालिका वडा नं. १० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको भवनमा सञ्चालन भइरहेको ५ दिने सहकारी व्यवस्थापन तालिममा फरक र आकर्षक तरिकाले ज्ञान आदानप्रदान भइरहेको छ।
मोरङ जिल्ला बचत तथा ऋण सहकारी संथाका सचिव प्रशिक्षक जीवन बस्नेतले सहकारी लेखा प्रणाली र व्यवस्थापन सम्बन्धी जटिल अवधारणालाई सहज र रमाइलो बनाउने उद्देश्यले गीतमार्फत सहजीकरण गर्नुभएको छ। लेखा हिसाबका कुराहरू लय र तालमा प्रस्तुत गर्दा सहभागीहरू निकै उत्साहित र सक्रिय देखिएका छन्।

“गीतबाट सिक्दा कुराहरू दिमागमा झन छिटो बस्छ,” सहभागीहरू मध्यकी एक जनाले भनिन्, “हामी जस्ता व्यावहारिक सिकाइ चाहनेका लागि यो विधि निकै प्रभावकारी देखिन्छ।”
तालिम आयोजक जनचर्चा टाइम्स मिडिया एण्ड एडभरटाइजिङ प्रा.लि. का अनुसार, गीतमार्फत सिकाइ शैली अपनाउनु तालिमलाई रोचक र प्रभावकारी बनाउन गरिएको प्रयास हो।
नगर प्रमुख केदार प्रसाद गुरागाईं र उपप्रमुख अकली चौधरीको संयुक्त उद्घाटनबाट सुरु भएको तालिममा लेखा प्रणाली, सहकारी कानुन, पारदर्शिता, संस्थागत सुशासन लगायतका विषयमा सहभागीहरूलाई व्यवहारिक ज्ञान दिइँदैछ। ५ दिने तालिममा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *