ग्रामथान अध्यक्षको चीन यात्रा, कार्यवाहकको जिम्मेवारी वडाध्यक्षलाई, उपाध्यक्षको गुनासो : ‘शुभयात्रा पनि भनिएन’
२५ चैत, विराटनगर ।
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले चीन भ्रमणमा जानुअघि आफ्नो अनुपस्थितिमा कार्यवाहकको जिम्मेवारी वडा नम्बर ३ का वडाध्यक्ष रमेशकुमार भगतलाई दिएका छन्। माझी माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन् भने भगत पनि सोही पार्टीका वडाध्यक्ष हुन्।
मंगलबारदेखि ९ दिनका लागि चीन भ्रमणमा जान लागेका माझीले सोमबार भगतलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्। तर यो निर्णय उपाध्यक्ष गुणवतीदेवी थारुलाई नछाडी गरिएको भन्दै स्थानीय तहमा विवाद उत्पन्न भएको छ।
अध्यक्ष माझीले बिदाइ कार्यक्रममा उपाध्यक्षलाई नबोलाएको र शुभकामना नदिएको विषयमा भगतले पनि टिप्पणी गरेका छन्। ‘उहाँले बधाई पनि दिनुभएन, शुभकामना पनि दिनुभएन,’ भगतले भने, ‘आज बैठक (बिदाइ) थियो, तर उपाध्यक्ष आउनुभएन।’
उपाध्यक्ष थारुले आफूलाई जानकारी नदिइएको भन्दै असन्तुष्टि जनाएकी छन्। ‘उहाँ जाँदै हुनुहुन्छ भन्ने मलाई थाहा नै थिएन,’ उनले भनिन्, ‘कोही जानकारी दिन आएका पनि थिएनन्।’
पालिका अध्यक्ष र उपाध्यक्षबीचको सम्बन्ध पहिलेबाटै चिसिएको बताइन्छ। कार्यकक्ष नजिकै हुँदाहुँदै पनि उनीहरूबीच संवाद औपचारिकतामा मात्र सीमित छ। यस्तै सम्बन्धको पृष्ठभूमिमा अध्यक्षले उपाध्यक्षलाई छाडेर आफ्नै पार्टीका वडाध्यक्षलाई जिम्मेवारी दिएका हुन्।
कानुन अनुसार गाउँपालिका अध्यक्ष अनुपस्थित रहँदा उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने व्यवस्था छ। तर आफूलाई बेवास्ता गरिएको भन्दै उपाध्यक्ष थारुले अदालत जाने तयारी गरेको बताएकी छन्।
यसअघि पनि कार्यपालिकाको निर्णयविरुद्ध उनले अदालतमा मुद्दा दायर गरेकी थिइन्, जुन हाल विचाराधीन अवस्थामा छ।
