बिराट एकेडेमी र ठडिया विधा मन्दिरको संयुक्तरुपमा बार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
एलएन गच्छदार / चैत्र २ गते
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१२ मा रहेको बिराट एकेडेमी चाइल्ड केयर सेन्टर तथा वडा -७ मा रहेको ठडिया विधा मन्दिरको संयुक्त वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार मंगल स्मृति प्रतिष्ठान जेसिज हलमा आयोजित कार्यक्रमको उद्घाटन शिक्षाविद् तथा साहित्यकार मेदिनी प्रसाद बरालले गरेका थिए।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल भिम अधिकारीले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै आगामी कार्य योजनाहरू सार्वजनिक गरे। उनले विद्यालयका शैक्षिक र सांस्कृतिक गतिविधिहरूलाई थप प्रगति गराउने लक्ष्य व्यक्त गरे। विद्यालयले केवल घोकाएर पढाउने कार्य नगरी, बालबालिकालाई सीप सिकाउन पनि प्रेरित गर्दै साना बालबालिकालाई तरकारी खेती गर्ने अभ्यास गराएको जानकारी दिएका थिए। यसका माध्यमबाट विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा दिने प्रयास गरिएको छ।
प्रिन्सिपल अधिकारीले भने, “हाम्रो उद्देश्य बालबालिकालाई गुणस्तरीय शिक्षा, माया र संस्कार दिने हो, र यसका लागि विद्यालय निरन्तर अग्रसर छ।”
विद्यालयले छोटो समयमै राम्रो सफलता हासिल गरेको र अब कक्षा ८ सम्म पठनपाठन गर्ने लक्ष्य राखेको प्रिन्सिपल अधिकारीले जानकारी दिए।
कार्यक्रममा एन प्याबसन प्रदेश स-सचिव कमल खनालले आफ्नो धारणा राख्दै शैक्षिक सुधार र विद्यार्थीहरूको समग्र विकासमा विद्यालयको योगदानको प्रशंसा गरे। उनले विद्यालयका कार्यक्रमहरूलाई थप सशक्त बनाउन विभिन्न पहलहरूको आवश्यकता रहेको कुरा पनि जोड दिए।
सो अवसरमा विद्यार्थीहरूले नाटक, नृत्य र विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरे। साथै, अभिभावक र शिक्षकहरूको सामूहिक नृत्यले कार्यक्रममा विशेष आकर्षण थपेको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति थियो।





