डा. सुनिल कुमार शर्माले गरे केराबारी -बेलबारी जोडने मितेरी झोलुङ्गे पुलको उदघाटन
एलएन गच्छदार
मङ्सिर २३ गते
केराबारी गाउँपालिका वडा ९ र बेलबारी नगरपालिका वडा -१ जोड्ने लोहन्द्रा खोलामा झोलुङ्गे पुलको उद्घाटन संघीय सांसद डा. सुनिल कुमार शर्माले गरेका छ्न ।
दुई पालिका जोड्ने केराबारी-बेलबारी मितेरी झोलुङ्गे पुल नाम दिएको सो पुलको बेलबारी नगरपालिका वडा नं.१ र केराबारी गाउँपालिका वडा नं.९ को संयुक्त आयोजनामा सांसद डा.शर्माद्वारा पुलको औपचारिक उद्घाटन भएको हो ।
डा. शर्माले पुल निर्माण गरिएपछी पुलले त्यस क्षेत्रका वासिन्दाको जीवनयापनमा सहजता थप्ने औँल्याए । देशको अवस्था दयनीय रहेपनि यस क्षेत्रको बिकासमा लागि पर्ने बताउदै केन्द्रबाट तटबन्धमा समेत बजेट पठाए पनि फाइल रोकेको बिषयमा आफुले मन्त्रालयमा बुझेर बजेट पठाउने बताए ।


प्रदेश सरकार भौतिक मन्त्रालय पूर्वाधार विकास कार्यालय मोरङ अन्तर्गत कुल लम्बाई १७०.२० मिटरको निर्मित पुलले बेलबारी १ र केराबारी ९ लाई जोडेको छ । यस पुलले दुवै पालिकाका नागरिकको लागि छोटो बाटो निर्माण भएको छ भने केराबारी र बेलबारी आवतजावत गर्न सहज बनाएको छ । जङ्गल र खोल्साखाल्सी भएको बाटोमा घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै यात्रा अवधि छोटिएको छ भने नजिकैको विद्यालयमा पढ्न जान/आउन पुलले सहज बनाएको स्थानीय प्रेम कार्कीले बताए । झोलुङ्गे पुल निर्माण हुँदा बाढीका कारण भोग्नु परेको सास्तीबाट सहज भएको छ भने केराबारी र बेलबारी बजार पुग्न समेत छोटो दुरी मात्र पार गर्नुपर्ने हुँदा दुई पालिकाका स्थानिय जनता पुल बनेपछि खुसि देखिन्थे।
कुल लागत १ करोड ८८ लाख ७१ हजार भ्याट सहित बनेको सो झोलुङ्गे पुल निर्माण कम्पनीले गत श्रावण मै काम सम्पन्न गरेको केरावारी वडा -९ का वडाध्यक्ष गोपाल याख्खाले बताए। उनले वडा सधै जनताको साथमा रहेको स्पष्ट पार्दै जनताका दुःखसुख बुझ्ने प्रयास भइरहने बताए ।
उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापा कोइराला, नेपाली काँग्रेस बेलबारीका सभापति छत्र लिम्बु, क्षेत्र नं.३ का सचिव राजेन्द्र अधिकारी, लगायत स्थानीयको उपस्थित रहेको थियो ।
