सुकुना क्याम्पसमा प्रतियोगितात्मक कविता गोष्ठि सम्पन्न
सुन्दरहरैंचा
सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैँचा, मोरङको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा शुक्रबार विद्यार्थीहरू बिच खुला प्रतियोगितात्मक कविता गोष्ठी सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा क्याम्पसमा अध्ययनरत १९ जना प्रतियोगीहरूले कविचा वाचन गरेका थिए । अतिरिक्त क्रियाकलाप समितिका संयोजक सहप्राध्यापक विदुर सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सबै प्रतियोगीहरूको मूल्याङ्कन उपप्राध्यापक दीपक गौतम र शिक्षणसहायक बालकृष्ण गौतमले गर्नु भएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि क्याम्पस प्रमुख अर्जुनराज अधिकारी विद्यार्थीहरूका रचनात्मक तथा सिर्जनात्मक कार्यलाई क्याम्पसले उचित सम्मान र अवसर दिने कुरामा जोड दिँदै विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नु भएको थियो ।
प्रतियोगीतामा बिएड प्रथम वर्षका प्रकाश कार्की, बिबिएस तेस्रो वर्षका प्रकाश न्यौपाने, बिबिएस तेस्रो वर्षका सत्तिस कार्की र बिबिए सातौँ सिमेस्टरका देवराज पौडेलले क्रमशः प्रथम, द्वितीय, तृतिय र सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
संयोजक सुवेदीले कार्यक्रमको औचित्य बताउँदै स्वागत गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन अतिरिक्त समितिका सदस्य उपप्राध्यापक खगेन्द्रराज दाहालले गरेको जानकारी क्याम्पसका अधिकृत नवराज कोइरालाले दिएका छन् ।




