ललितपुरमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न, रथयात्राको औपचारिक समापन
काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा परम्परागत भोटो जात्रा भव्य रूपमा सम्पन्न भएको छ ।
शनिबार जावलाखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा मणिमाणिक्य जडित भोटो प्रदर्शन गर्दै जात्रा सम्पन्न गरिएको हो ।
भोटो अवलोकनका लागि राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाहलगायत उच्च पदस्थ व्यक्तिहरू समेत उपस्थित भएका थिए । गुठी संस्थानका प्रतिनिधिहरूले परम्परागत विधिअनुसार भोटो प्रदर्शन गरेका थिए ।
त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति पौडेलसहित विशिष्ट अतिथिहरूले टीका र प्रसाद ग्रहण गरेका थिए । भोटो देखाइएसँगै उपत्यकाको सबैभन्दा लामो मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा औपचारिक रूपमा समापन भएको छ । यसपछि मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट निकालेर खटमा राखी बाजागाजासहित बुङमतीतर्फ लगिएको छ ।
जनविश्वासअनुसार बहुमूल्य रत्न जडित भोटो लगाएको भूतसँग सम्बन्धित विवाद समाधान गर्न प्रमाणसहित दाबी पेश गर्ने परम्पराका रूपमा भोटो जात्रा सुरु भएको हो । दाबी गर्न कोही उपस्थित नभएसम्म उक्त भोटो मच्छिन्द्रनाथकै संरक्षणमा रहने विश्वास गरिन्छ ।
