गर्मी र कम भोल्टेजका बीच इटहरी–२० मा जोखिमपूर्ण टेलिकम पोल हटाउने अभियान सुरु

सुनसरी । अत्यधिक गर्मी र कम भोल्टेजका कारण विद्युत् तथा दूरसञ्चार संरचनामा दुर्घटनाको जोखिम बढ्न थालेपछि इटहरी उपमहानगरपालिका–२० ले जोखिमपूर्ण तथा प्रयोगविहीन टेलिकम पोल हटाउने अभियान सुरु गरेको छ।

वडा कार्यालयका अनुसार पछिल्लो समय उच्च तापक्रम र न्यून भोल्टेजका कारण विद्युत् तथा सञ्चारका तार सर्ट हुने, ट्रान्सफर्मरमा क्षति पुग्ने तथा आगलागीका घटना हुन सक्ने जोखिम बढेको छ। यस्ता सम्भावित दुर्घटना न्यूनीकरण गर्दै विद्युत् र दूरसञ्चार सेवा सुरक्षित राख्न पुराना तथा जीर्ण टेलिकम पोल हटाउने कार्य थालिएको हो।

वडासदस्य तनुज गुरुङले अभियानले स्थानीय क्षेत्रमा रहेका विद्युत् तथा दूरसञ्चार पूर्वाधारलाई थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बताए। उनका अनुसार प्रयोगविहीन तथा जोखिमयुक्त संरचना हटाइएपछि आगलागी, तार चुडिने तथा अन्य प्राविधिक समस्याको सम्भावना पनि कम हुनेछ।

वडा कार्यालयले अभियानलाई प्रभावकारी बनाउन स्थानीयवासी, सेवा प्रदायक संस्था तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको जनाएको छ। साथै सुरक्षित र व्यवस्थित पूर्वाधार निर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै सहकार्य गर्न आग्रह गरेको छ।

बढ्दो गर्मीका कारण विद्युत् तथा सञ्चार संरचनामा थप दबाब सिर्जना भइरहेका बेला इटहरी–२० ले थालेको यो अभियानलाई स्थानीय स्तरमा पूर्वसावधानीमूलक कदमका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *