पूर्वाधारपछि स्वास्थ्य, शिक्षा र कृषिमा लगानी बढाउन कनकाईवासीको जोड

झापा । कनकाई नगरपालिकाले पछिल्ला वर्षहरूमा सडक, पुल, नदी नियन्त्रणलगायत भौतिक पूर्वाधार विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेपछि अब स्वास्थ्य, शिक्षा, कृषि तथा सेवा प्रवाहलाई विकासको मुख्य प्राथमिकतामा राख्नुपर्ने आवाज नगरवासीबाट उठेको छ।

नगरपालिकाले आगामी नीति तथा कार्यक्रम तर्जुमाको तयारी गरिरहेका बेला स्थानीयवासीहरूले पूर्वाधार विकाससँगै नागरिकको जीवनस्तर सुधार गर्ने क्षेत्रमा बढी लगानी गर्न आग्रह गरेका छन्। उनीहरूले गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, कृषि उत्पादनको बजारीकरण, फोहोर व्यवस्थापन, बजार व्यवस्थापन तथा विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

स्थानीयवासीका अनुसार नगर क्षेत्रमा सडक सञ्जाल विस्तार, नदी नियन्त्रण तथा धार्मिक–पर्यटकीय पूर्वाधार विकासले सकारात्मक परिवर्तन ल्याएको छ। तर कृषिमा सिँचाइ सुविधा विस्तार, उत्पादनको उचित बजार व्यवस्थापन, स्वास्थ्य सेवाको पहुँच वृद्धि र शिक्षा क्षेत्रको गुणस्तर सुधार अझै चुनौतीका रूपमा रहेको उनीहरूको भनाइ छ।

उनीहरूले माई, विरिङ र सुरुङ्गा खोलाबाट हुने कटान तथा बाढी जोखिमको दीर्घकालीन समाधान, ऐलानी जग्गाको व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण, खानेपानी तथा सरसफाइ सुधार, फोहोर व्यवस्थापन र लागुऔषध दुव्र्यसन नियन्त्रणका कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।

कृषि क्षेत्रमा उन्नत बीउबिजन, सिँचाइ सुविधा र उत्पादनको बजारीकरणका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने माग स्थानीयवासीले गरेका छन्। साथै, शिक्षा क्षेत्रमा शिक्षकको क्षमता अभिवृद्धि, प्रतिस्पर्धाका आधारमा नियुक्ति र विद्यालय व्यवस्थापन सुधारमा जोड दिनुपर्ने उनीहरूको धारणा छ।

कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले आगामी नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र कृषि उत्पादनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताइन्। उनका अनुसार नगरवासीको जीवनस्तर सुधारलाई केन्द्रमा राख्दै योजनाहरू तर्जुमा गरिनेछ। स्थानीयवासीका सुझाव र अपेक्षाले कनकाई नगरपालिकाको आगामी विकास यात्रा पूर्वाधार निर्माणबाट नागरिकको जीवनस्तर उकास्ने सामाजिक तथा आर्थिक क्षेत्रमा केन्द्रित हुनुपर्ने संकेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *