सहमतिको बाटोमा कांग्रेस : सुन्दरहरैंचा–७ मा सर्वसम्मत वडा अधिवेशन, बल्लु विष्टको समन्वयकारी भूमिका

सुन्दरहरैंचा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं. ६, सुन्दरहरैंचा नगरपालिका–७ मा वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। पार्टीभित्र सहमति, एकता र नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउने अभियानमा वडा सभापति बल्लु विष्टको सक्रिय समन्वयले अधिवेशनलाई सर्वसम्मत बनाउन महत्वपूर्ण भूमिका खेलेको कांग्रेसका स्थानीय कार्यकर्ताहरूले बताएका छन्।

अधिवेशनले कुबित नाल्बोको  नेतृत्वमा वडा कार्यसमिति चयन गर्नुका साथै ३२ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ। नेतृत्व चयनमा देखिन सक्ने प्रतिस्पर्धालाई सहमति र संवादमार्फत टुंग्याउँदै सबै पक्षलाई समेटेर अघि बढ्न विष्टले पहल गरेको बताइएको छ।

पार्टी संगठनमा युवा पुस्ताको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिँदै आएका विष्टको पहलमा यसपटक क्षेत्रीय प्रतिनिधिमा पनि युवाहरूको उल्लेख्य उपस्थिति देखिएको छ। रविन बजगाईं, मिलन लुइँटेल, मनिल चुडाल र गायत्री रेग्मी लगायत युवा प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन्।

विष्टले पार्टीमा लामो समयदेखि सक्रिय रहँदै संगठन विस्तार, कार्यकर्ता परिचालन र पार्टीभित्रको एकता कायम गर्न भूमिका खेल्दै आएको स्थानीय कार्यकर्ताहरूको भनाइ छ। उनको नेतृत्वशैलीलाई पदभन्दा संगठन, प्रतिस्पर्धाभन्दा सहमति र व्यक्तिगत स्वार्थभन्दा पार्टी एकतालाई प्राथमिकता दिने प्रयासका रूपमा कार्यकर्ताहरूले चर्चा गरेका छन्।

वडा अधिवेशन सर्वसम्मत बनाउन विष्टले विभिन्न समूह तथा आकांक्षीहरूसँग निरन्तर संवाद र समन्वय गरेको बताइएको छ। त्यसकै परिणामस्वरूप वडा सभापतिदेखि क्षेत्रीय प्रतिनिधिसम्म सहमतिको वातावरण बनेको कांग्रेसका स्थानीय कार्यकर्ताहरूको भनाइ छ।

युवा पुस्तालाई संगठनमा जिम्मेवारी दिँदै पुरानो अनुभव र नयाँ ऊर्जालाई सँगसँगै अघि बढाउने प्रयासका रूपमा सुन्दरहरैंचा–७ को अधिवेशनलाई हेरिएको छ। बल्लु विष्टको समन्वय, कुबिर लिम्बुको नेतृत्व र युवाहरूको सहभागिताले वडा कांग्रेसमा नयाँ पुस्ताको उपस्थितिलाई थप बलियो बनाएको कार्यकर्ताहरू बताउँछन्।

अधिवेशनपछि कार्यकर्ताहरूले अब निर्वाचित नेतृत्वले संगठनलाई थप चलायमान बनाउँदै पार्टीलाई वडा तहबाटै बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *