अनुमति बिना यार्सागुम्बा सङ्कलन गर्ने चार जना पक्राउ, नौ मोटरसाइकल र यार्सा बरामद
तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका क्षेत्रमा अनुमति नलिई यार्सागुम्बा सङ्कलन गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट यार्सागुम्बा र नौ वटा मोटरसाइकल समेत बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार पक्राउ पर्नेहरू सङ्खुवासभाको मादी नगरपालिका–९ निवासी जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठ हुन्। उनीहरूबाट १३ थान यार्सागुम्बा बरामद गरिएको प्रहरीले जनाएको छ।
म्याङ्लुङ नगरपालिका–६ स्थित भुसीने–जिपटारे सामुदायिक वन क्षेत्रमा २० देखि २५ जनाको समूहले यार्सागुम्बा सङ्कलन गरिरहेको सूचनापछि प्रहरी टोली परिचालन गरिएको थियो। सो क्रममा मोटरसाइकल राखिएको स्थानबाट चार जनालाई यार्सागुम्बासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरले जानकारी दिए।
पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
डिभिजन वन कार्यालय तेह्रथुमका वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार यार्सागुम्बा सङ्कलन गर्न सम्बन्धित निकायबाट अनुमति लिनुका साथै तोकिएको राजस्व तिर्नुपर्ने व्यवस्था छ। अनुमति बिना सङ्कलन गरेको पाइएमा प्रतिकिलो ३१ हजार रुपैयाँ र प्रतिवटा ३१ रुपैयाँका दरले जरिवाना लाग्ने कानुनी व्यवस्था रहेको उनले बताए।
डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्नी झाका अनुसार यार्सागुम्बा निर्यातबाट वार्षिक करिब तीन लाख रुपैयाँ तथा काठजन्य वन पैदावारबाट चारदेखि पाँच करोड रुपैयाँसम्म राजस्व सङ्कलन हुँदै आएको छ। वन क्षेत्रबाट हुने बहुमूल्य जडीबुटीको संरक्षण र व्यवस्थापनका लागि अनधिकृत सङ्कलन नियन्त्रण अभियानलाई कडाइका साथ अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।
