अत्यधिक गर्मीका कारण सुनसरीको बर्जू र महोत्तरीको बर्दिबासमा दुई दिन विद्यालय बन्द

सुनसरी/ लगातार बढ्दो गर्मी र विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै सुनसरीको बर्जू गाउँपालिका र महोत्तरीको बर्दिबास नगरपालिकाले दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

बर्जू गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनाअनुसार गाउँपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जेठ २१ र २२ गते (बिहीबार र शुक्रबार) गर्मी बिदा दिइएको छ। गाउँपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा जोखिम बढ्न सक्ने भएकाले सावधानीस्वरूप बिदा दिएको जनाएको छ।

सूचनामा उक्त बिदा वर्षे बिदाबाट कट्टा हुने उल्लेख गरिएको छ। साथै, बिदापछि पनि मौसम प्रतिकूल रहेमा विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार गाउँपालिकालाई लिखित जानकारी गराई पठनपाठनको समयावधि नघट्ने गरी बिहानको सत्रमा विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

यस्तै, महोत्तरीको बर्दिबास नगरपालिकाले पनि अत्यधिक गर्मीका कारण नगर क्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा जेठ २१ र २२ गते पूर्ण रूपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीका अनुसार बढ्दो तापक्रमले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले यो निर्णय गरिएको हो।

पछिल्ला पाँच दिनयता महोत्तरीमा तापक्रम निरन्तर ३८ डिग्री सेल्सियसको हाराहारीमा रहँदै आएको छ। गर्मीकै कारण गत आइतबार गौशाला–१२ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षाकोठामै १० जना छात्रा बेहोस भएका थिए। उपचारपछि उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

दिनभरि चर्को घाम र तातो हावा चल्न थालेपछि तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित बन्दै गएको छ भने स्थानीय तहहरूले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै विद्यालय बन्द गर्ने तथा वैकल्पिक समय तालिका अपनाउने निर्णय गर्न थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *