विद्यार्थी नेतृत्व विकासका लागि क्वेष्टमा नमुना निर्वाचन
विद्यार्थी नेतृत्व विकासका लागि क्वेष्टमा नमुना निर्वाचन
स्थानीय तह निर्वाचनको झल्को दिने गरी विद्यार्थी परिषद् चयन, लोकतान्त्रिक संस्कार सिकाउँदै विद्यालय
एल एन गच्छदार
सुन्दरहरैंचा, मोरङ — मोरङको सुन्दरहरैंचा नगरपालिका–८, सलकपुरस्थित क्वेष्ट सेकेण्डरी स्कुल ले विद्यार्थीहरूमा लोकतान्त्रिक संस्कार, नेतृत्व क्षमता र जिम्मेवारीबोधको विकास गर्ने उद्देश्यले स्थानीय तह निर्वाचनको झल्को दिने गरी नमुना विद्यार्थी निर्वाचन सम्पन्न गरेको छ।
विद्यालय परिसरमै निर्वाचन आचारसंहिता, उम्मेदवारी दर्ता, चुनावी प्रचारप्रसार, मतदाता परिचय, मतदान केन्द्र व्यवस्थापन तथा मतगणनाजस्ता प्रक्रिया अपनाएर निर्वाचन सम्पन्न गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले वास्तविक निर्वाचनको अनुभव प्राप्त गर्दै लोकतन्त्रको अभ्यास गरेका थिए।
विद्यालयका विभिन्न तहका विद्यार्थीहरूले आफ्नो नेतृत्व प्रस्तुत गर्दै उम्मेदवारी दिएका थिए भने मतदाताको भूमिकामा रहेका विद्यार्थीहरूले गोप्य मतदानमार्फत आफ्ना प्रतिनिधि चयन गरेका थिए। निर्वाचनमा देखिएको उत्साहले विद्यार्थीहरूमा नेतृत्व र सहभागिताप्रतिको चासो बढ्दो रहेको देखाएको विद्यालयले जनाएको छ।
विद्यालयका संस्थापक प्रिन्सिपल दीपक क्षेत्री ले विद्यालय केवल पाठ्यपुस्तकको ज्ञान दिने थलो मात्र नभई जिम्मेवार नागरिक निर्माण गर्ने संस्था भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “लोकतन्त्रको अभ्यास विद्यालय तहबाटै सुरु हुनुपर्छ। विद्यार्थीहरूले मतदानको महत्व, नेतृत्व चयनको प्रक्रिया, मताधिकारको प्रयोग र जिम्मेवार नागरिकको भूमिका बुझून् भन्ने उद्देश्यले नमुना निर्वाचन आयोजना गरेका हौं। यसले उनीहरूलाई भविष्यमा सचेत नागरिक बन्न मद्दत पुर्याउनेछ।”
क्षेत्रीका अनुसार नेतृत्व चयनको प्रक्रियाले विद्यार्थीहरूमा आत्मविश्वास, निर्णय क्षमता, संवादकला तथा समूहमा काम गर्ने सीपको विकास गर्न सहयोग पुग्नेछ। विद्यालयले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ।
शिक्षाविद्हरूका अनुसार विद्यालयस्तरमा हुने यस्ता अभ्यासले विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य, सहिष्णुता, प्रतिस्पर्धाको स्वस्थ संस्कृति र सामाजिक उत्तरदायित्वबारे व्यवहारिक ज्ञान प्रदान गर्छ। निर्वाचन प्रक्रियामार्फत विद्यार्थीहरूले अधिकारसँगै कर्तव्यको महत्व पनि बुझ्ने अवसर प्राप्त गर्छन्।
सामाजिक रूपमा पनि यस्ता कार्यक्रमले भावी पुस्तालाई सकारात्मक नेतृत्व, सुशासन र नागरिक उत्तरदायित्वप्रति सचेत बनाउने अपेक्षा गरिएको छ। पछिल्लो समय सामाजिक सञ्जाल र प्रविधिको बढ्दो प्रभावबीच लोकतान्त्रिक अभ्यास, संवाद र सहकार्यको संस्कार विकास गर्न विद्यालयले खेलेको भूमिका महत्वपूर्ण मानिएको छ।
स्थानीय निर्वाचनको झल्को दिने गरी सम्पन्न गरिएको यो नमुना निर्वाचनले विद्यार्थीहरूलाई नेतृत्व विकासको अवसर प्रदान गर्नुका साथै विद्यालयलाई व्यवहारिक शिक्षाको उत्कृष्ट नमुनाका रूपमा स्थापित गरेको सहभागीहरूको भनाइ छ।
