बौद्धिक अपाङ्गता भएका व्यक्तिका लागि सुन्दरहरैंचामा पहिलोपटक २० दिने सीपमूलक तालिम
आत्मनिर्भरता र समावेशी विकासतर्फ नगरपालिकाको नयाँ पहल
एल एन गच्छदार
सुन्दरहरैंचा, मोरङ — बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई सीप, आत्मविश्वास र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यका साथ सुन्दरहरैंचा नगरपालिकाले पहिलोपटक २० दिने गुडिया तथा कुशन निर्माण तालिम सञ्चालन गरेको छ। नगरपालिकाको सामाजिक विकास शाखाको आयोजनामा सुरु भएको तालिमले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि तथा आर्थिक सशक्तीकरणमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
सुन्दरहरैंचा–७ स्थित पोखरेल प्रतिष्ठानमा सञ्चालन भइरहेको तालिममा बौद्धिक अपाङ्गताको पहिचान गरिएका व्यक्तिहरूको सहभागिता रहेको छ। समाजमा अझै पनि अवसरबाट वञ्चित रहने यस वर्गलाई उत्पादनशील र आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो।
तालिमको विशेष पक्ष भनेको स्वयं अपाङ्गता भएकी पारु गुरागाईं प्रशिक्षकको भूमिकामा रहनु हो। उहाँले आफ्नो जीवन अनुभव, संघर्ष र सफलताका कथामार्फत सहभागीहरूलाई प्रेरणा दिनुका साथै गुडिया तथा कुशन निर्माणसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिरहनुभएको छ। अपाङ्गता भएका व्यक्तिले नै प्रशिक्षकको भूमिका निर्वाह गर्नु कार्यक्रमको उदाहरणीय पक्ष बनेको छ।
कार्यक्रममा PFPID Nepal मोरङकी फिल्ड अफिसर उर्मिला सुबेदी को सहजीकरण र समन्वय रहेको छ। उहाँले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूलधारमा समेट्न सीपमूलक तथा आयआर्जनमुखी कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो।
सुन्दरहरैंचा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख गुणनिधि दाहाल ले अपाङ्गता भएका व्यक्तिहरूलाई केवल सामाजिक सुरक्षाको दायरामा सीमित नराखी उनीहरूको क्षमता विकास र आत्मनिर्भरतामा जोड दिन आवश्यक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूमा पनि असाधारण क्षमता र सिर्जनशीलता हुन्छ। उचित अवसर, सीप र प्रोत्साहन प्रदान गर्न सके उनीहरू समाजका सक्रिय र उत्पादनशील नागरिक बन्न सक्छन्। यही विश्वासका साथ नगरपालिकाले पहिलोपटक उनीहरूलाई लक्षित गरी सीपमूलक तालिम सञ्चालन गरेको हो। समावेशी विकासको लक्ष्य हासिल गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।”
नगरपालिकाका अनुसार तालिमपछि सहभागीहरूले सिकेका सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले आवश्यक परामर्श तथा सहजीकरणका कार्यक्रमसमेत सञ्चालन गरिनेछन्।
बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई अवसर र पहुँचको दायराभित्र ल्याउँदै सम्मानजनक जीवनयापनको आधार निर्माण गर्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमलाई सुन्दरहरैंचामा समावेशी विकास र सामाजिक रूपान्तरणको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।





