देशभर बदली र वर्षाको सम्भावना, तराई–पहाडमा हावाहुरीको चेतावनी
सुनसरी । नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशभर मौसम बदली भई वर्षाको सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न प्रदेशका पहाडी र तराई क्षेत्रमा चट्याङसहित वर्षा तथा हावाहुरी हुन सक्ने जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ । कोशी प्रदेशका केही स्थानसहित बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य पहाडी र हिमाली भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । साथै मधेस प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज राति पनि लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ । ती क्षेत्रमा चट्याङसहित वर्षा जारी रहने सम्भावना रहेको छ भने तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ ।
मौसममा आएको परिवर्तनसँगै यात्रा, कृषि कार्य तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।
