हरैंचा मोडेल सेकेण्डरी स्कुलको २२औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

एलएन गच्छदार 

सुन्दरहरैंचा नगरपालिका वडा-१ मा अवस्थित हरैंचा मोडेल सेकेण्डरी स्कुलको २२औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको मुख्य आकर्षण सचेतनामूलक नाटक, सम्मान कार्यक्रम, विद्यार्थीहरूको प्रतिभा प्रदर्शन तथा पुरस्कार वितरण रहेको थियो। सो विद्यालयमा अध्ययन गरेका पहिलो ब्याचका  बिधार्थी डा. रोशन झा र शिक्षक पूजा साहलाई विशेष सम्मान प्रदान गरिएको थियो।

विद्यालयका प्रिन्सिपल रुद्र थापाले थप शिक्षाको गुणस्तर अभिवृद्धि गर्न स्पायर्स एजुकेसन फाउन्डेसन, काठमाडौंसँग सहकार्य गर्दै कक्षा ५ सम्मको शैक्षिक सुधारमा ध्यान दिने बताएका छन्।

कार्यक्रममा प्रमुख अतिथि सुकुना बहुमुखी क्याम्पसका प्रमुख अर्जुन राज अधिकारीले गुणस्तरीय शिक्षाले मात्र समृद्ध समाज निर्माण गर्न सकिने बताए। उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नारायण कार्की, प्याबसन नगर अध्यक्ष दिपक क्षेत्री, विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो।

यस अवसरमा ४ सयभन्दा बढी विद्यार्थीले अभिभावकहरूका सामु आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका थिए। विद्यालयले आगामी दिनमा संस्कार र प्रबिधिमैत्री  शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अझ बढी सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

विद्यार्थीलाई नगद पुरस्कार वितरण

विद्यालयले एसईई परीक्षामा A+ ल्याउने विद्यार्थीलाई ५ हजार नगद पुरस्कार तथा वार्षिक परीक्षामा ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीलाई ३ हजार नगद पुरस्कार प्रदान गरेको छ। साथै, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समेत सम्मानित गरिएको छ।

विद्यालय प्रबन्ध निर्देशक घनश्याम रिमालले कोर्षमा मात्र नभई अतिरिक्त क्षमताको सर्वाङ्गिण विकाससहित संस्कारयुक्त गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय कटिबद्ध रहेको बताए। बालमैत्री शिक्षा प्रणाली, प्रोजेक्ट वर्क तथा स्मार्ट बोर्डमार्फत आधुनिक अध्यापन विद्यालयको प्रमुख विशेषता रहेको उनले उल्लेख गरे।

विज्ञान प्रदर्शनी र खानापरिकारको स्टल

यस अवसरमा विद्यार्थीहरूले तयार पारेको विज्ञान प्रदर्शनी पनि आकर्षणको केन्द्र रह्यो, जसमा विभिन्न वैज्ञानिक मोडेलहरू प्रदर्शन गरिएका थिए। साथै, होटेल म्यानेजमेन्ट संकायका विद्यार्थीहरूले खानापरिकारको स्टल सञ्चालन गरी विभिन्न परिकार प्रस्तुत गरेका थिए।

अभिभावक खेल तथा मनोरञ्जन

कार्यक्रममा विद्यार्थीहरू मात्र नभई अभिभावकहरूका लागि पनि खेल तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो।  बिबिध  रमाइलो खेलहरू चिट्ठा कार्यक्रममा अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। यसले विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुर्‍याएको विद्यालय प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *