करोडौँ लगानीको कोल्ड स्टोर प्रयोगविहीन, सञ्चालन नहुँदा खण्डहर बन्ने अवस्थामा
सुनसरी । कृषि उपज भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको सुविधा सम्पन्न कोल्ड स्टोर सञ्चालनमा आउन नसक्दा प्रयोगविहीन बनेको छ । सुन्दरहरैचा नगरपालिका–७ गछियामा सङ्घीय सरकार र स्थानीय तहको संयुक्त लगानीमा निर्माण गरिएको कोल्ड स्टोर दुई वर्षदेखि अलपत्र अवस्थामा पुगेको हो ।
नगरपालिकाले सञ्चालनका लागि पटक–पटक टेन्डर आह्वान गरे पनि कुनै व्यवसायी आकर्षित नभएपछि संरचना प्रयोगविहीन बनेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । वडा नम्बर ७ का अध्यक्ष भुवनसिंह मगर का अनुसार कोल्ड स्टोर निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि सञ्चालनको जिम्मा लिन कसैले चासो देखाएको छैन । सुरुमा मासिक ४० हजार रुपैयाँ भाडादर तोकिएकोमा पछि घटाएर ३५ हजार कायम गरिए पनि टेन्डर प्रक्रिया सफल हुन सकेको छैन ।
फलफूल तथा तरकारी लामो समयसम्म भण्डारण गरी बजार व्यवस्थापन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त कोल्ड स्टोर स्थानीय उत्पादन र बजार संरचनाको अभावका कारण सञ्चालनमा आउन नसकेको बताइएको छ । गछिया क्षेत्रमा खपत हुने अधिकांश तरकारी तथा फलफूल इटहरी र पहाडी जिल्लाबाट सिधै बजारमा आउने भएकाले व्यवसायीले कोल्ड स्टोरको आवश्यकता महसुस नगरेको स्थानीयको भनाइ छ । यता इटहरीमा समेत ठूलो क्षमताको अर्को कोल्ड स्टोर सञ्चालनको तयारी भइरहेकाले गछियाको संरचना थप ओझेलमा पर्ने चिन्ता बढेको छ ।
हाल कोल्ड स्टोर परिसरमा बाक्लो घाँस उम्रिएको छ भने लामो समय प्रयोगविहीन हुँदा संरचना खण्डहर बन्ने अवस्थामा पुगेको स्थानीयले बताएका छन् । साजीलाल माध्यमिक विद्यालयको जग्गामा निर्माण गरिएको उक्त संरचना कहिले सञ्चालनमा आउने भन्ने अझै अन्योलमै रहेको छ ।
