विटुमिन अभावले एसियन हाइवे निर्माण प्रभावित, काँकरभिट्टा–लौकही सडक विस्तारमा ढिलाइ
मोरङ । काँकरभिट्टादेखि लौकहीसम्म निर्माणाधीन ‘एसियन हाइवे’ सडकखण्डमा विटुमिन (अलकत्रा) आपूर्ति समस्या र मूल्य वृद्धिका कारण कालोपत्रे कार्य प्रभावित बनेको छ । निर्माण सुरु भएको करिब ३० महिना बितिसक्दा पनि हालसम्म करिब ४० प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
आयोजनाअन्तर्गत पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार पछिल्लो समय भारतीय बजारमा विटुमिनको मूल्य प्रतिलिटर रु १५० भन्दा माथि पुगेपछि निर्माण लागत बढेको र कालोपत्रे कार्यमा ढिलाइ भएको हो । गुणस्तरसम्बन्धी समस्या देखिनुका साथै आपूर्तिमा अनियमितता हुँदा सडक निर्माण प्रभावित भएको उनले बताए।
यद्यपि, विटुमिन तथा ब्यारल उद्योगले भने बजारमा अभाव नभई मूल्य अस्थिरता मात्र देखिएको जनाएको छ । कालोपत्रे कार्य प्रभावित भए पनि अन्य संरचनागत निर्माण भने तीव्र गतिमा भइरहेको आयोजनाले जनाएको छ । ओभरपास, अण्डरपास, बेस, सब–बेस तथा नाला निर्माणलगायतका काम निरन्तर अघि बढिरहेका छन् ।
प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट पश्चिमतर्फ ९५ दशमलव ७६ किलोमिटर सडक ठेक्का सम्झौताअनुसार निर्माण भइरहेको छ । परियोजनालाई पूर्वी र पश्चिमी दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको छ । निर्माण सामग्रीको नियमित आपूर्ति सुनिश्चित भए कामले थप गति लिने अपेक्षा गरिएको आयोजनाको भनाइ छ ।
एसियन हाइवे निर्माण सम्पन्न भएपछि थाइल्याण्डको बैंककदेखि सुरु भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकरभिट्टा भएर पूर्व–पश्चिम राजमार्ग जोड्दै पाकिस्तानको कराँचीसम्म सडक सञ्जाल विस्तार हुने लक्ष्य राखिएको छ ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ १९ गतेदेखि सुरु भएको परियोजना अन्तर्राष्ट्रिय सडक मापदण्डअनुसार फराकिलो लेन, सुरक्षित ड्रेनेज प्रणाली, ओभरपास तथा अण्डरपाससहित निर्माण भइरहेको छ । परियोजना सम्पन्न भएपछि पूर्वी नेपालमा यातायात आवागमन सहज हुनुका साथै व्यापार, ढुवानी र आर्थिक गतिविधिमा समेत उल्लेख्य विस्तार हुने अपेक्षा गरिएको छ ।
