इटहरीको तालतलैयामा प्याब्सन सुन्दरहरैंचाको दोस्रो पालिका परिषद भेला सम्पन्न
एलएन गच्छदार / सुन्दरहरैंचा ।
निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) सुन्दरहरैंचाको दोस्रो पालिका परिषद भेला–२०८२ सोमबार इटहरीको टालटालैयामा भव्य रूपमा सम्पन्न भएको छ। भेलामा प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दिपक क्षेत्रीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै हालसम्मका गतिविधि, उपलब्धि र भावी योजनाबारे विस्तृत जानकारी गराएका छन्।
भेलाका प्रमुख अतिथि प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष टीकाराम ढकाल रहेका थिए भने विशिष्ट अतिथिमा प्याब्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा सहभागी थिए। यसैगरी केन्द्रीय, प्रदेश तथा जिल्ला तहका पदाधिकारी, सल्लाहकार, विभिन्न पालिकाका प्याब्सन अध्यक्षहरू, पत्रकार तथा सदस्य विद्यालयका संस्थापक, प्रिन्सिपल र प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
निजी शिक्षाको योगदानबारे चर्चा
अध्यक्ष क्षेत्रीले प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा निजी विद्यालयको इतिहास, शिक्षा क्षेत्रमा खेलेको भूमिका र प्याब्सनको योगदानबारे चर्चा गरे। उनले निजी विद्यालयहरूले छात्रवृत्ति प्रदान गर्दै गरिब, द्वन्द्वपीडित तथा जेहेनदार विद्यार्थीहरूलाई अवसर दिएको र देशलाई सक्षम जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताए। “नेपालको लगानी, समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्न प्याब्सनको भूमिका कोसेढुङ्गा सावित हुँदै आएको छ,” उनले उल्लेख गरे।
संगठनात्मक अवस्था र उद्देश्य
प्रतिवेदनअनुसार २०७५ सालमा गठन भएको प्याब्सन सुन्दरहरैंचाले संगठनलाई सुदृढ बनाउँदै आएको छ। प्रविधिमैत्री शिक्षा, निजी विद्यालयमैत्री नीति निर्माणमा सहकार्य, अतिरिक्त क्रियाकलाप, सामूहिक परीक्षा, आर्थिक पारदर्शिता र सदस्य विद्यालय विस्तारलाई कार्यसमितिको प्रमुख उद्देश्यका रूपमा अघि सारिएको छ।
वर्षभरि सञ्चालन गरिएका कार्यक्रम
अध्यक्ष क्षेत्रीले २०८१ मंसिरदेखि २०८२ मंसिरसम्म सञ्चालन गरिएका लोकनृत्य, चित्रकला, फुटबल प्रतियोगिता, शिक्षक तालिम, बस चालक अभिमुखीकरण, सामाजिक सुरक्षा कोषसम्बन्धी कार्यक्रम, अंग्रेजी हिज्जे प्रतियोगिता, जेष्ठ नागरिक सम्मान तथा चाडपर्व शुभकामना आदानप्रदान कार्यक्रमहरूको विवरण प्रस्तुत गरे। यस्ता कार्यक्रमहरूले विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनको क्षमता अभिवृद्धि गरेको उनको भनाइ थियो।
भावी योजना
भेलामा आगामी दिनका लागि वार्षिक क्यालेन्डर निर्माण, तालिम कार्यक्रम विस्तार, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान, सदस्य विद्यालय संख्या वृद्धि र नगरपालिकासँग सहकार्य बढाउने योजना सार्वजनिक गरिएको छ।कार्यक्रममा बोल्ने वक्ताहरूले प्याब्सन सुन्दरहरैंचाले शैक्षिक गुणस्तर वृद्धि, संगठनात्मक एकता र सामाजिक उत्तरदायित्वमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न शुभकामना व्यक्त गरे।अन्त्यमा अध्यक्ष दिपक क्षेत्रीले भेलामा उपस्थित सम्पूर्ण अतिथि, सल्लाहकार, सदस्य विद्यालय र सरोकारवालाप्रति आभार व्यक्त गर्दै प्रतिवेदनलाई सर्वसम्मत अनुमोदन गर्न आग्रह गरे। भेलाले प्याब्सन सुन्दरहरैंचालाई थप सशक्त बनाउने विश्वासका साथ औपचारिक रूपमा समापन भएको हो।
