उधारो रकम घटाउँदै सृजना सामुदायिक वन, १५औँ वार्षिक साधारणसभा सम्पन्न
एलएन गच्छदार / सुन्दरहरैंचा
सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ मा रहेको सृजना सामुदायिक वन उपभोक्ता समूहको १५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। साधारणसभामा समूहका अध्यक्ष लेखनाथ प्रसाईंले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वन व्यवस्थापन, सामाजिक सहयोग तथा आर्थिक गतिविधिबारे विस्तृत जानकारी गराएका थिए।
अध्यक्ष प्रसाईंका अनुसार उत्तरतर्फ लोहन्द्रा–केरावारी साझेदारी वन र दक्षिणतर्फ पूर्वाञ्चल विश्वविद्यालयको सीमाना भित्र रहेको यस सामुदायिक वनको कार्यालय स्थापना गरी वन नियमअनुसार सञ्चालन हुँदै आएको छ। हाल समूहले नयाँ कार्ययोजना तयार गरी लागू गरेको र उक्त योजना आगामी १० वर्षका लागि प्रभावकारी रहने जानकारी पनि गराइएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालक समितिको नियमिततर्फ १२ पटक र आकस्मिकतर्फ ४ पटक बैठक बसेर वन व्यवस्थापन तथा उपभोक्तासम्बन्धी कार्य अघि बढाइएको अध्यक्षले बताए। हालको नक्साअनुसार वनको कुल क्षेत्रफल १५४.६६ हेक्टर रहेको छ, जसमा १२३.६ हेक्टर उत्पादनशील वन क्षेत्र रहेको जानकारी दिइयो।
यस अवधिमा आर्थिक रूपमा विपन्न १९ घरपरिवारलाई दाहसंस्कारका लागि निःशुल्क दाउरा वितरण गरिएको तथा सुन्दरहरैंचा–७ निवासी पार्वता गुरागाईंलाई आर्थिक विपन्नता र अपाङ्गताको कारण घर निर्माणका लागि १९.६८ क्यू.फिट धागेरो काठ निःशुल्क सहयोग गरिएको प्रतिवेदनमा उल्लेख छ।
अध्यक्ष प्रसाईंले हालसम्म वनका स्रोत–साधन नियमअनुसार आवश्यकता हेरी मितव्ययी रूपमा काठ–दाउरा बिक्री वितरण गरिएको जानकारी दिए। यद्यपि सामुदायिक वनमा सालको काठ नभए पनि विगतमा अन्य जातको काठ बिक्रीमा समस्या नभएको, तर पछिल्लो समय उपभोक्ताहरूको रुचि घट्दा ३–४ वर्षअघिदेखि स्टकमा रहेको काठको गुणस्तर घट्दै गएको भन्दै उचित मूल्य निर्धारण गरी बिक्री गर्नुपर्ने सुझाव सञ्चालक समितिमा पेश गरिएको बताए।
साधारणसभामा लेखा संयोजक डण्ड बहादुर खड्काले आय–व्यय तथा लेखा प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिँदै विगतमा पेस्की तथा उधारोमा रहेका रकममध्ये यस वर्ष रु. १०,९२,९६० असुल भएको र अझै रु. ८,९६,५२८ बाँकी रहेको बताए। बाँकी रकम असुलीका लागि जिम्मेवार ढंगले पहल गर्न सञ्चालक समितिलाई सुझाव दिइएको छ।
वन प्राङ्गणमा लामो समयदेखि स्टकमा रहेको काठ–दाउरा बिक्रीका लागि नियमनकारी निकायको सुझावअनुसार उपभोक्ताहरूको सहमतिमा उपयुक्त दररेट कायम गर्न आग्रह गरिएको छ। साथै उपभोक्ताहरूलाई आफ्नो आवश्यकता अनुसार सामुदायिक वनको काठ खरिद गर्न समेत अनुरोध गरिएको छ।
साधारणसभा वडा नं. ७ का वडा अध्यक्ष भुवनसिंह आले मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
