सुविजिमुर मेमोरियल मा.वि.द्वारा ३१औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न
सुन्दरहरैंचा, वैशाख २६
मोरङको सुन्दरहरैंचा–१२ स्थित सुविजिमुर मेमोरियल माध्यमिक विद्यालयले ३१औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम शुक्रबार इन्द्रपुर जेसीज भवनको सभाहलमा विविध सांस्कृतिक प्रस्तुतिसहित उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको हो।
कार्यक्रममा कक्षा अनुसार प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई विशेष छुट सुविधासहित पुरस्कार प्रदान गरिएको थियो। विद्यालय प्रथम स्थान प्राप्त गर्ने विद्यार्थीलाई भने पूर्ण रूपमा छुट दिने व्यवस्था गरिएको विद्यालय प्रशासनले जानकारी दिएको छ। विद्यालयमा कक्षा १२ सम्म अध्ययनको व्यवस्था छ।
अभिभावक दिवसको अवसरमा विद्यालयका विद्यार्थीहरूले गायन, नृत्य, नाटक, कविता लगायतका बहुआयामिक सांस्कृतिक प्रस्तुति दिएर उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएका थिए।
कार्यक्रमका क्रममा विद्यालयले विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याउने विशिष्ट व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरेको थियो। साथै, विद्यालयमा लामो समयदेखि अध्यापन गराउँदै आएका समर्पित शिक्षक तथा कर्मचारीहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। अभिभावक र शिक्षकहरूको संयुक्त सांस्कृतिक प्रस्तुति कार्यक्रमको थप आकर्षण बनेको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मोरङ जिल्ला कार्यसमितिका अध्यक्ष जगत बस्नेत थिए भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव अधिकारीले कार्यक्रमको अध्यक्षता गरेका थिए।
विद्यालयका प्रधानाध्यापक गोविन्द कार्कीले स्वागत मन्तव्य राख्दै विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक प्रगतिबारे विस्तृत जानकारी गराएका थिए।
उत्कृष्ट शैक्षिक उपलब्धि र सशक्त सांस्कृतिक कार्यक्रमहरूका कारण सुविजिमुर मेमोरियल माध्यमिक विद्यालय सुन्दरहरैंचाको अग्रणी संस्थागत विद्यालयमध्ये एकका रूपमा स्थापित हुँदै गएको छ।






