सुनौलो जून’ हाइकुसङ्ग्रहको लोकार्पण
मोरङ । २०८२ बैशाख २७ गते
पूर्वाञ्चल हाइकु सङ्घ, कोशी प्रदेशद्वारा प्रकाशित संयुक्त हाइकुसङ्ग्रह ‘सुनौलो जून’ को लोकार्पण भएको छ । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो । उक्त हाइकुसङ्ग्रहमा इन्द्रसुर बेल्टारे, ईरान राई, एकु घिमिरे, एवाइ प्रभात, चूडामणि नेपाल अकिञ्चन, चेतनाथ धमला, डी.बी. बस्नेत, तिला लेकाली, दिल पौडेल, नाकारा, नवराज पोखरेल ‘नवशिला’, बाबुराम पोखरेल, मिश्र वैजयन्ती, राजु परियार, विश्वविश्रुत विकास, शुक्रराज कुँवर, सिजन श्रेष्ठ, सृजना सरोवर, हरि कट्टेल, हिरा खड्का अधिकारी र हेमसागर पोखरेल गरी २१ हाइकुकारका १,०५० हाइकुहरू सङ्ग्रहित छन् ।
पूर्व सांसद तथा साहित्यकार हर्कमान तामाङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा संविधानसभा सदस्य एवम् जनगायिका मधु गुरुङ, प्रेरणा परिषद् दार्जीलिङका अध्यक्ष मुक्तिनाथ शर्मा शोषित, बेलबारीका अग्रज स्रष्टा इरान राई, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, विराटनगर प्रज्ञा-प्रतिष्ठानका सचिव दिनेश सुवेदी (दिङ्लाली कान्छो), लेखक तथा साहित्यकार केशु विरही, स्रष्टाहरू धनजीत पराजुली, दीप मङ्ग्राती, मुना मिश्र, यादव भट्टराई, केपी घिमिरे लगायतका साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । लोकार्पित पुस्तकमाथि राजेन्द्र प्रधान पासाको समीक्षा रहेको थियो ।
कार्यक्रममा चूडामणि नेपाल अकिञ्चन, डी.बी. बस्नेत, एवाई प्रभात, नवराज पोखरेल ‘नवशिला’, कृष्ण गौतम, टीका मिलन, हिरा खड्कालगायतका स्रष्टाहरूले रचनावाचन गरेका थिए । कार्यक्रममा बेलबारीका अग्रज साहित्यकार इरान राईलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्वाञ्चल हाइकु सङ्घ, कोशी प्रदेश समिति सदस्य कवि सिजन श्रेष्ठको स्वागत मन्तव्य रहेको थियो भने उक्त कार्यक्रममा अध्यक्षता सङ्घका अध्यक्ष तिला लेकाली र सञ्चालन उपाध्यक्ष हेमसागर पोखरेलको रहेको थियो ।




