शिल्पी नाट्य केन्द्रले पूर्णता पाउने, आर्थिक समिति गठन
विराटचोक, फागुन ४
सुन्दरहरैंचा–८, सलकपुरमा निर्माणाधीन शिल्पी नाट्य केन्द्रले अब पूर्णता पाउने भएको छ। रकम अभावका कारण रोकिएको निर्माण कार्यलाई पुनः सञ्चालन गर्न सुन्दरहरैंचा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णप्रसाद रिजालको संयोजकत्वमा ७ सदस्यीय आर्थिक समिति गठन गरिएको छ।
समितिले आजैदेखि रकम संकलन कार्य सुरु गरेको छ। समितिको सदस्यहरूमा नगेन्द्रप्रसाद दाहाल, कृष्णप्रसाद लामिछाने, राजु खड्का, रमेश खड्का, योजना शर्मा र प्रमिला दुलाल रहेका छन्।
आज बिहान नाट्य केन्द्र निर्माणस्थलमा आयोजित भेलाले उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका पदाधिकारी, जनप्रतिनिधि तथा पूर्व प्रशासकहरूको सहभागितामा समिति गठन गरेको हो। भेलामा उपस्थित व्यक्तिहरूले ५ हजार रुपैयाँदेखि ५१ हजार रुपैयाँसम्म सहयोग गर्ने घोषणा गरेका थिए, जसमध्ये केहीले तत्कालै सहयोग रकम हस्तान्तरण गरेका छन्।
गत वर्ष नायक राजेश हमालद्वारा शिलान्यास गरिएको सो कला केन्द्र निर्माणका लागि हालसम्म ६० लाख रुपैयाँ खर्च भइसकेको छ। स्लेट बिछ्याउन प्रदेश सरकारले १० लाख रुपैयाँ उपलब्ध गराएको शिल्पी नाट्य केन्द्रका सञ्चालक समिति उपाध्यक्ष निरज न्यौपानेले जानकारी दिए।
हालै सुन्दरहरैंचाका विभिन्न संघसंस्थाले सामूहिक होली खेलेपछि नाट्य केन्द्रप्रति स्थानीयबासीको चासो बढेको छ। यसले थप आर्थिक सहयोग जुट्ने अपेक्षा गरिएको छ।
