अन्नपूर्ण माविले भव्य रूपले मनायाे अभिभावक दिवस
पथरी शनिश्चरे समाचार, फागुन -१५ गते
मोरङ्गको पथरी शनिश्चरे वडा नं १ मा रहेको श्री अन्नपूर्ण माध्यमिक विद्यालयले आफ्नो ३४ औँ अभिभावक दिवस तथा वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।
आज बिहीबार विद्यालयले आफ्नै प्राङ्गणमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो।
पथरी शनिश्चरे वडा नं १ का वडा अध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यता र विद्यालयका निर्देशक मदन बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वीरेन्द्र गुरुङले विद्यालयको आगामी शैक्षिक योजनाहरू प्रस्तुत गर्नुभएको थियो।
प्रमुख अतिथि राईले ब्यानर पढेर र दीप प्रज्वलन गरेर उद्घाटन भएको उक्त कार्यक्रममा विभिन्न तह र कक्षाका बालबालिकाहरूले सुन्दर सांस्कृतिक भेषभूषाका नृत्यहरू पस्केका थिए। सोही अवसरमा विद्यालयमा दुई दशकभन्दा बढी शिक्षण सेवा गरी अवकाश लिनुभएका पूर्व शिक्षक तुलसीराम तिम्सिनालाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो। यसैगरी, विभिन्न विधामा विजयी विद्यार्थीहरूलाई मेडल , प्रमाणपत्र सहित पुरस्कृत समेत गरिएको थियो।
उक्त अवसरमा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले ३४ वर्ष अघिदेखि शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्याएर शैक्षिक गुणस्तर हासिल गरेको भन्दै प्रशंसा गर्नुभयो। सोही अवसरमा प्रमुख अतिथि वडाध्यक्ष भीमकुमार राईले यस विद्यालयबाट अध्ययन गरी देशका विभिन्न जिम्मेवारी स्थानमा पुगेर आफूलाई अब्बल साबित गरेको र असल नागरिकको रुपमा स्थापित गरेको भन्दै प्रशंसा गर्नुभयो।
नगर प्याब्सन पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेत, विद्यालय सञ्चालक भम्पर थापा, विद्यालयका संयोजक सुरेश थापा, शिक्षक अभिभावक सङ्घकाे अध्यक्ष हेमबहादुर श्रेष्ठ, तथा सदस्यहरू क्रमश: जेसिका बस्नेत, कला मगर , लगायतको उपस्थिति रहेको थियो। स्वागत मन्तव्य रामचन्द्र रानाले गर्नुभएको सो कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक आकाश धिमालले गर्नुभएको थियो।
