झमकको घरमै पुगेर दिइयो ‘कोशी एक्सिलेन्स अवार्ड’

झमकको घरमै पुगेर दिइयो ‘कोशी एक्सिलेन्स अवार्ड’

सुन्दरहरैँचा / प्रतिभावान साहित्यकार झमक घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा साहित्य विधाको अवार्ड घरमै पुगेर प्रदान गरिएको छ ।

इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथि रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उक्त अवार्ड प्रदान गर्ने कार्यक्रम तय भएपनि साहित्यकार घिमिरे स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन सकेकी थिइनन् ।

उनको अवार्ड शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले ग्रहण गरेका थिए । साहित्यका घिमिरेको घरमै पुगेर उक्त अवार्ड झमक घिमिरे प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईँ मार्फत हस्तान्तरण गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा.लिद्धारा सञ्चालित प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले जानकारी दिए। उनले प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको तथा जहाँ १३ विधाका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको बताए ।

बाैद्विक रूपमा सक्क्षम तथा शारीरिक रूपमा अशक्त साहित्यकार घिमिरेको जन्म २०३७ असार २१ गते धनकुटाको कचिडेमा भएको थियो । गरिब परिवारमा अशक्तका रूपमा जन्मिएकी घिमिरेको बाल्यकाल कष्टकर बितेको थियो । उनलाई साहित्यले नै सफलताको बाटो कोर्यो ।

‘जीवन काँडा कि फूल’ कृतिमार्फत २०६७ सालमा घिमिरेले मदन पुरस्कार समेत पाइन् । किशोर उमेरमै साहित्य लेखनमा सक्रिय उनकाे २०५५ सालमा पहिलो कृति ‘सङ्कल्प’ कविता सङ्ग्रह प्रकाशित भयाे । त्यससँगै आफ्नै चिता अग्नि शिखातिर २०५७, मान्छे भित्रका योद्धाहरू–२०५७ र नौलो प्रतिबिम्ब–२०६५ कविता सङ्ग्रह प्रकाशित छन् । उनका एउटा क्वाँटी (विभिन्न विधा) सङ्ग्रह, (अवसान पछिको आगमन–२०५७), एउटा लेख सङ्ग्रह (सम्झनाका बाछिटाहरू–२०५७), एउटा कथा सङ्ग्रह (पर्दा, समय र मान्छेहरू–२०६२) र एउटा निबन्ध सङ्ग्रह (बेमौसमका आस्थाहरू–२०६३) प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *