सुन्दरहरैँचामा आसामे चोक–डिपु सडक कालोपत्रे निर्माणको शिलान्यास
एलएन गच्छदार / फागुन ४ गते
सुन्दरहरैँचा नगरपालिका–६ स्थित आसामे चोकदेखि डिपु सडकखण्ड कालोपत्रे हुने भएको छ। संघीय सरकार र नगरपालिकाको साझेदारीमा निर्माण हुन लागेको करिब २.५ किलोमिटर लामो सडक आइतबार नगर प्रमुख केदारप्रसाद गुरागाईंले शिलान्यास गर्नुभएको छ।
लामो समयदेखि पिच नहुँदा स्थानीयवासीलाई सास्ती भइरहेको यस सडकको निर्माण कार्य अघि बढ्ने भएपछि स्थानीय खुशी भएका छन्। नगरपालिकाका अनुसार, कुल २ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण हुने यो सडकले सुन्दरहरैँचाका नागरिकलाई सहज यात्रा गर्ने अवसर प्रदान गर्नेछ।
शिलान्यास कार्यक्रममा नगर उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, नगर प्रवक्ता एवं वडा अध्यक्ष रोशनप्रसाद ढकाल, वडा अध्यक्ष सन्तोष लिङ्देन, विभिन्न राजनीतिक दलका प्रतिनिधि, टोल विकास समिति सदस्य तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।
स्थानीय सरकारको पहलमा विकास निर्माणका कार्य अघि बढिरहेको भन्दै नगर प्रमुख गुरागाईंले गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। स्थानीयवासीले सडक निर्माण छिटो सम्पन्न गर्न आग्रह गरेका छन्। नगर प्रमुख केदारप्रसाद गुरागाईंले शिलान्यास समारोहमा बोल्दै यो सडक निर्माणले स्थानीयवासीलाई ठूलो राहत पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, “लामो समयदेखि पिच नहुँदा यहाँका बासिन्दाले सास्ती भोग्नुपरिरहेको थियो। अब संघीय सरकार र नगरपालिकाको साझेदारीमा गुणस्तरीय सडक निर्माण हुनेछ, जसले यातायात सहज बनाउनुका साथै आर्थिक र सामाजिक विकासलाई पनि गति दिनेछ।”
नगर प्रमुख गुरागाईंले निर्माण कार्य समयमै सम्पन्न गर्नका लागि स्थानीयवासीको सहयोग आवश्यक रहेको बताउँदै ठेकेदार कम्पनीलाई पनि तोकिएको समयमा काम सक्न निर्देशन दिनुभएको छ।
