मोरङको सुन्दरहरैंचामा क्वेष्ट स्पोर्ट्स मिट २०८१ सुरु
एलएन गच्छदार
सुन्दरहरैंचा, माघ १५
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ मा रहेको क्वेष्ट इंगलिस सेकेण्डरी स्कुलले आयोजना गरेको वार्षिक क्वेष्ट स्पोर्ट्स मिट २०८१ आजबाट सुरु भएको छ।
कार्यक्रमको उद्घाटन सुबिजिमुर सेकेण्डरी स्कुलका प्रिन्सिपल तथा प्याबसन महाधिवेशन प्रतिनिधि गोबिन्द कार्कीले गरेका थिए। उद्घाटन समारोहमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक उपस्थिति थियो।
स्पोर्ट्स मिट अन्तर्गत विविध खेलकुद प्रतियोगिता आयोजना गरिने छ, जसमा विद्यार्थीहरू फुटबल, भलिबल, एथलेटिक्स, ब्याडमिन्टन, र थ्रो बल जस्ता खेलमा प्रतिस्पर्धा गर्नेछन्। विद्यार्थीहरूको शारीरिक क्षमता, नेतृत्व विकास र टोली भावना बढाउन यस कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्राचार्यले उद्घाटन समारोहमा बोल्दै विद्यार्थीहरूलाई शारीरिक रूपमा स्वस्थ राख्न र खेलकुद गतिविधिमा संलग्न गराउन विद्यालयले यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको बताए। उनले खेलकुदले अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गर्ने उल्लेख गर्दै सहभागी सबैलाई शुभकामना दिए।
कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने बताइएको छ। विजयी खेलाडी र टोलीहरूलाई पुरस्कार प्रदान गर्दै स्पोर्ट्स मिटको समापन गरिनेछ। स्थानीय स्तरमा यस्तो कार्यक्रमले विद्यालय र समुदायबीचको सहकार्य र सम्बन्धलाई थप सुदृढ गर्ने विश्वास गरिएको छ।
