प्रदेश १ प्रदेशसभा : पाँच वर्षमा नाम जुरेन, खर्च एक अर्ब दुई करोड

इटहरी । प्रदेश १  प्रदेश  सभाको पहिलो कार्यकालमा एक अर्ब २ करोड ७० लाख बढी बढी खर्च भएको छ । पाँच वर्षको अवधीमा सांसद,कर्मचारीको तलब भत्ता र  भवन निर्माण,  सवारी खरिद, मर्मत सम्भारलगायत शीर्षकमा एक अर्ब २ करोड ७० लाख ३४ हजार ८०६ रुपैयाँ खर्च भएको हो । 

प्रदेशसभा सचिवालयको स्थापना २०७४ माघ १७ गते भएको थियो । जिल्ला समन्वय समितिको भवनमा स्थापना भएको प्रदेशसभा सचिवालयले सोेही कार्यालय परिसरमा २ करोड ५९ लाखलागतमा छुटै बैठक भवन बनाएको छ ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार २०७४ साल माघ १७ गतेदेखि २०६९ असोज १ गतेसम्म प्रदेशसभाको सम्पूर्ण शीर्षकमा सो खर्च भएको हो । प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशले स्थायी राजधानी तोकेपनि आफ्नो नाम राख्न सकेन् । प्रदेशसभाको पहिलो कार्यकालको १० वटा अधिवेशनमा २९४ वटा बैठक बसेको थियो । पाँच वर्षको अवधीमा प्रदेशसभाबाट तीन वटा सरकार  गठन भएका थिए ।

पाँच वर्षको अवधीमा ६२ वटा सरकारी विधेयक र दुई वटा नियमावली पास गरेको प्रदेशसभाले पाँच वर्षमा सांसद, कर्मचारीको तलब भत्ता, सुविधालगायत शीर्षकमा (चालु तफ) ८० करोड ७९ लाख ६०  हजार ३ सय  ८०  रुपैयाँ खर्च गरेको थियो । यो छुट्याएको बजेटको  ६४ प्रतिशत हो । पाँच वर्र्षमा चालु तर्फ  एक अर्ब २६ करोड १९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । प्रदेशसभा सचिवालयका अनुसार पूजीगत तर्फ पाँच वर्षमा ३७ करोड  ५६ लाख १८ हजार बजेट विनियोजन भएको थियो । जसमा २१ करोड ९० लाख ७४ हजार ४२६  रुपैयाँ खर्च भयो । यो खर्च पूजीगत तर्फको  बजेटको ५८.३२ प्रतिशत हो ।

चालु  र पूजीगत तर्फ प्रदेशसभाले पाँच वर्षमा एक अर्ब ६३ करोड ७५ लाख ८७ हजार ५७६  रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमा एक अर्ब २ करोड ७० लाख ३४ हजार ८०६ रुपैयाँ खर्च भएको सचिव पराजुलीले जानकारी दिए । पहिलो कार्यकालमा प्रदेशसभा सचिवालयले वार्षीक सरदर करिब २० करोड ५४ लाख ६  हजार ९६१ रुपैयाँका दरले खर्च गरेको छ ।

तीन सरकार, ६२ कानुन
 

प्रदेशसभाको पहिलो कार्यकालमा  तीन वटा सरकार गठन भयो । २०७४ फागुन ३ गते प्रदेश १  को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त भएका थिए । तत्कालिन नेकपा विभाजन भएपछि २०७८ भदौ ११ गते एमालेबाटै भीमप्रसाद आचार्य मुख्यमन्त्री नियुक्त भएका  थिए । आचार्यले विश्वासको मत नलिई राजीनामा दिएपछि कांग्रेस, माओवादी  केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टीसहितको गठबन्धनबाट २०७८ कात्तिक १६ गते राजेन्द्र राई मुख्यमन्त्री  नियुक्त  भए  ।

शेरधन राई र  भीम आचार्य मुख्यमन्त्री रहदा प्रदेशमा  ७ वटा मन्त्रालय थिए । गठबन्धनमा भागवण्डा पुर्याउनका लागि सात वटा मन्त्रालय फुटाएर १३ वटा बनाइएको थियो । प्रदेशसभाको १० वटा अधिवेशनमा २ सय ९४  वटा  बैठक बसेको थियो ।  सचिवालयका अनुसार  ती बैठक  जम्मा ३ सय  ६६ घण्टा ४५ मिनेट बसेको थियो । ९३ सदस्यीय प्रदेशसभा सदस्यले शून्य  समयमा ८८५ पटक, विशेष समयमा ५६ पटक, दलको तर्फबाट ६४ पटक र विधेयकको छलफलमाथि १  हजार ८२ पटक प्रदेशसभा सदस्यहरुले बैठकमा बोलेका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *