झापा र मोरङबाट लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर : झापा र मोरङबाट लागुऔषध सहित जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका-१ फाल्गुनन्द चौक स्थितमा इलामको महमाई नगरपालिका-१ घर भई हाल सोहि स्थानमा डेरा गरी बस्दै आएका २५ बर्षीय सन्तोष कुमार एक्तेन लिम्बुले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरी टोलीले उक्त कोठाको खानतलासी गर्दा कोठाबाट ४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेसगै बेचबिखनमा संलग्न निजकै श्रीमती २४ बर्षीया सनिता राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-५ बाट देश भारत बिहारका २२ बर्षीय आलिम आलमलाई २ ग्राम १०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ। यसैगरी मोरङको बिराटनगर-१५ बाट मोरङ बेलबारी नगरपालिकाका ३१ बर्षीय अमृत बिश्वकर्मालाई AVIL, DIAZEPAM, LUPIZSIC र PHENARAGAN गरि २० एम्पुल सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।





