पहिरोले घर मात्र होइन, किसानको रोपाइँ सपना पनि बगायो
सङ्खुवासभा । लगातारको वर्षापछि खसेको पहिरोले सङ्खुवासभाको सभापोखरी गाउँपालिका र खाँदबारी नगरपालिकामा तीन परिवार विस्थापित भएका छन् भने रोपाइँको तयारीमा रहेका खेतसमेत पुरिएका छन्।
शनिबार आएको पहिरोका कारण सभापोखरी गाउँपालिका–१ धुपुका धनबहादुर विश्वकर्मा र शान्तिराम पोखरेलका परिवार घर छाड्न बाध्य भएका छन्। पहिरोले विश्वकर्माको दुईतले घरको पछाडिको भाग भत्काएपछि छेउमै रहेको पोखरेलको घरसमेत जोखिममा परेको थियो। स्थानीय तह र प्रहरीको समन्वयमा दुवै परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
यस्तै, खाँदबारी नगरपालिका–६ खानीडाँडाका यारबहादुर तामाङको परिवारलाई पनि पहिरोको जोखिम बढेपछि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विस्थापित परिवारहरू हाल छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्।
पहिरोको असर घरधुरीमा मात्र सीमित छैन। सभापोखरी–१ धुपुमा स्थानीय राजन राई, कर्ण राई र अम्बर राईको धान रोप्ने तयारीमा रहेको खेतीयोग्य जमिन पहिरोले कटान तथा पुरिएपछि किसानहरू चिन्तित बनेका छन्। वर्षभरिको उत्पादनको आशा बोकेको खेत क्षतिग्रस्त हुँदा उनीहरूको रोजीरोटीमा समेत असर पर्ने देखिएको छ।
धुपु प्रहरी चौकीबाट खटिएको टोलीले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउनुका साथै आवश्यक परे थप परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको जनाएको छ। लगातार वर्षा भइरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।
