इन्द्रपुर नमुना सेकेण्डरी स्कुललाई आइएसओ सर्टिफिकेट
सुन्दरहरैचा : मोरङको सुन्दरहरैचा १२ मा रहेको इन्द्रपुर नमुना सेकेण्डरी स्कुललाई अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ सटिर्फिकेट) प्राप्त भएको छ । उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने आइएसओ प्रमाणपत्र शनिबार एक समारोहबीच हस्तान्तरण गरिएको छ । यसक्षेत्रको अब्बल स्कुलका रुपमा रहेको उक्त स्कुलले अधिकांश मापदण्ड पूरा गरेको र बाँकी मापदण्ड केही समय भित्रै पूरा गर्ने प्रतिवद्धता गरेसगै सर्टिफिकेट हस्तान्तरण गरिएको हो ।
उत्कृष्ट विद्यालयहरूलाई प्रदान गरिने अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरचिन्ह ‘आईएसओ’ सर्टिफिकेट इन्द्रपुर नमुना सेकेण्डरी स्कुलले प्राप्त गरेको र अब केहि बर्ष भित्रै आइएसओ पनि पाउनेछ । सुन्दरहरैचा शिक्षा शाखा प्रमुख लिलादेवी ओझा,स्कुलका प्रबन्धक निर्देशक उत्सव थापा,स्कुलका प्रिन्सिपल शान्तिराम दाहाल लगायतलाई एभरेष्ट इन्टरनेशनल कसल्टेन्सी काठमाडौँका प्रबन्धक निर्देशक शैलेन्द्र कुमार खरेलले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
प्रबन्धक निर्देशक खरेलले प्रतिनिधिले स्कुलले अधिकांश मापदण्ड पूरा गरेको तीन वर्षको अबको अबधिमा बाँकी मापदण्ड पनि पूरा गर्ने प्रयाप्त आधार रहेकाले प्रमाणपत्र हस्तान्तरण गरिएको र अब मापदण्ड पूरा भएपछि लोगो पनि हस्तान्तरण गरिने बताए ।
स्कुलका प्रबन्धक निर्देशक उत्सव थापाले आइएसओ प्रमाणपत्र पाएसँगै स्कुलमा आइपरेको दायित्वलाई सफलतापूर्वक साकार पार्न सबैका बीचमा सहकार्यको खाँचो रहेको बताए । स्कुलका प्रिन्सिपल दाहालले शैक्षिक संस्थाको शैक्षिक तथा व्यावस्थापकीय अवस्थाको मूल्यांकनका आधारमा कैयन अन्तरक्रिया, तालिम र सूचकको मापन गर्दै प्रमाणपत्र प्राप्त गरिएको भन्दै बाँकी मापदण्ड पनि तोकिएको समयमै पूरा गरिने प्रतिवद्धता जनाए ।
शैक्षिक संस्थाको शैक्षिक तथा व्यावस्थापकीय उत्कृष्टता र संस्थापक तथा प्रशासकको थप सुधारका लागि व्यक्त प्रतिबद्धतालाई समेत मूल्याङ्कन गरेर यो प्रमाणपत्र प्रदान गरिन्छ । यो प्रमाणपत्रको संसारभरि मान्यता हुन्छ । कार्यक्रममा बोल्दै सुन्दरहरैचा १२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले स्कुलले प्रमाणपत्र प्राप्त गरेकोमा खुशी ब्यक्त गर्दै शिक्षा छेत्रमा जस्तो सुकै सहयोग गर्न नगरपालिका तयारी रहेको बताएका थिए।