बसाइँ सरेर आउने परिवारलाई इलाम नगरपालिकाकाे सम्मान, निःशुल्क स्वास्थ्य सेवा

इलाम । बसाइँ सरेर आउने परिवारलाई इलाम नगरपालिकाले सम्मान गरेको छ । साेमबार वडा कार्यालयमा भएको एक कार्यक्रममा वडामा आएका ११ परिवारलाई सम्मानपत्र र ढाकाटोपी ओढाएर सम्मान गरिएको हो । इलाम नगरपालिकाका प्रमुख केदार थापा तथा वडाध्यक्ष नुतनदेव दुलालले उनीहरुलाई फूलमालासहित सम्मान गरे ।

पहाडबाट तराईका क्षेत्रमा बसाइँ सर्ने क्रम बढेकै अवस्थामा यस वडामा भित्रिने परिवारलाई वडाले सम्मान गरेको वडाध्यक्ष दुलालले बताए । उनीहरूको आम्दानीका लागि कृषिजन्य औजार, कृषि बीउबिजन आवश्यक वस्तु समेत वितरण गरिँदै आइएको वडाध्यक्ष दुलालले बताए ।साथै नयाँ परिवारको निःशुल्क स्वास्थ्य बीमा समेत गरिएको छ ।

 वडाकै रकमबाट बसाइँ सरेर आउने परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको बताइएको छ । यो वडा कृषिजन्य काम र पशुपालनमा घाँस उत्पादनका हिसाबले अगाडि रहेको उनको भनाइ छ ।वडामा इलाम जिल्लाकै विभिन्न ठाउँबाट ११ परिवार भित्रिएको छ । 

घट्दो जनसंख्या तथा बसाइँसराइले पहाड रित्तिने क्रम बढेपछि उनीहरूलाई यहीँ बस्न उत्साह थप्न समेत यस्तो काम गरिएको वडाध्यक्ष दुलालले बताए ।किसानको आर्थिकस्तर माथि उकास्न नगरपालिकाले पहल गरिरहेको नगर प्रमुख थापाले बताए । 

उनले पहिलादेखि नै कृषि र पशुपालनमा इलाम–४ अब्बल रहेकाले अझै पनि यस्ता काममा अगाडि बढ्न वडावासीलाई आग्रह गरे । सोही अवसरमा किसानलाई टनेल, कुटे, पाइप तथा १२ प्रकारका कृषि बीउबिजन समेत वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *