सुन्दरहरैँचा फुड फेस्टिभल असोज २५ देखि, दुई लाख दर्शक भित्र्याउने लक्ष्य
राजेशपायल राईदेखि रचना रिमालसम्मका कलाकारको प्रस्तुति; स्थानीय स्वाद, संस्कृति र व्यापार प्रवर्द्धनमा जोड
एलएन गच्छदार / सुन्दरहरैँचा
सुन्दरहरैँचा (मोरङ) । चाडपर्वको रौनक, स्थानीय परिकारको स्वाद र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिलाई एउटै उत्सवमा समेट्दै मोरङको सुन्दरहरैँचामा ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ। सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म विराटचोकस्थित सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन हुने फेस्टिभलमा दुई लाखभन्दा बढी दर्शक तथा अवलोकनकर्ता भित्र्याउने लक्ष्य राखिएको छ।
स्थानीय उत्पादनको बजार विस्तार, मौलिक खानपानको प्रवर्द्धन, व्यापारिक गतिविधिमा वृद्धि र सुन्दरहरैँचालाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको फेस्टिभलले दसैँ, तिहार, नेपाल संवत् र छठको उत्सवलाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ।
फेस्टिभलका सम्बन्धमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको तयारी, आकर्षण, सुरक्षा व्यवस्थापन तथा अनुमानित आम्दानी–खर्चको विवरण सार्वजनिक गरेको हो। सुन्दर होटल पर्यटन व्यवसायी सङ्घ सह–आयोजक रहेको फेस्टिभलमा खानपान, व्यापार, मनोरञ्जन र सांस्कृतिक विविधतालाई एकै ठाउँमा प्रस्तुत गरिनेछ।
स्वादमा विविधता, मनोरञ्जनमा राष्ट्रिय कलाकार
फेस्टिभलको प्रमुख आकर्षणका रूपमा चर्चित गायक राजेशपायल राई, सविन राई, रचना रिमाल, डम्बर नेपाली, प्रीति आले मगर, एलिना चौहान र मिलन परियारलगायत कलाकारको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुतिसँगै विभिन्न मनोरञ्जनात्मक र खेलकुद गतिविधिसमेत सञ्चालन गरिनेछन्।
खानपानतर्फ नेवारी परिकारसहित विभिन्न जातजातिका मौलिक खाद्य परिकारलाई विशेष प्राथमिकता दिइनेछ। कृषि तथा घरेलु उत्पादन, हस्तकलाका सामग्री र विभिन्न व्यापारिक वस्तुको प्रदर्शनी तथा बिक्रीले पनि फेस्टिभललाई आकर्षक बनाउने आयोजकको विश्वास छ।
बेलुका १० बजेसम्म सञ्चालन गर्ने तयारी गरिएको फेस्टिभललाई बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका व्यक्तिले परिवारसहित रमाउन सक्ने उत्सवका रूपमा विकास गर्न खोजिएको छ। स्थानीय स्वादको अनुभव, सांगीतिक मनोरञ्जन र चाडपर्वको उल्लासलाई एकै ठाउँमा उपलब्ध गराउनु यसको विशेषता हुने आयोजकको भनाइ छ।
स्थानीय व्यवसायीलाई बजार, उत्पादकलाई अवसर
फेस्टिभलमा विभिन्न प्रकृतिका १४ वटा व्यावसायिक स्टल रहनेछन्। यसका अतिरिक्त स्थानीय उत्पादन तथा सामाजिक र सांस्कृतिक क्षेत्रको प्रवर्द्धनका लागि छवटा निःशुल्क स्टल उपलब्ध गराइनेछ।
स्टलमार्फत स्थानीय व्यवसायी, उद्यमी तथा उत्पादकले आफ्ना वस्तु तथा सेवाको प्रचारप्रसार, बिक्रीवितरण र बजार विस्तार गर्ने अवसर पाउने अपेक्षा गरिएको छ। उपभोक्तालाई स्थानीय उत्पादनसँग परिचित गराउनुका साथै स्थानीय व्यापारलाई चलायमान बनाउने लक्ष्यसमेत आयोजकले राखेको छ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले फेस्टिभललाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय उत्पादन, व्यापार, पर्यटन र उद्यमशीलताको प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्न खोजिएको बताए।
स्थानीय व्यवसायीलाई बजारसँग जोड्ने, उपभोक्तालाई स्वदेशी तथा स्थानीय उत्पादनप्रति आकर्षित गर्ने र सुन्दरहरैँचाको आर्थिक तथा पर्यटकीय पहिचान विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले स्पष्ट पारे। फेस्टिभल सफल बनाउन व्यवसायी, स्थानीय तह, सञ्चारमाध्यम, सुरक्षा निकाय र आम नागरिकको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष कार्कीले सबैलाई सहभागिताका लागि आग्रह गरे।
फेस्टिभलका संयोजक ज्ञानप्रसाद ढकालले स्थानीय स्वाद, संस्कृति र मनोरञ्जनलाई समेटेर कार्यक्रमको तयारी भइरहेको जानकारी दिए। उनका अनुसार विभिन्न समुदायका मौलिक खानपान, कला, संस्कृति, भाषा, भेषभूषा र परम्पराको संरक्षण तथा प्रचारप्रसारमा फेस्टिभलले योगदान पुर्याउने लक्ष्य राखिएको छ।
सुरक्षा र व्यवस्थापनमा विशेष जोड
ठूलो सङ्ख्यामा दर्शक सहभागी हुने अपेक्षा गरिएको फेस्टिभललाई व्यवस्थित र सुरक्षित बनाउन आवश्यक तयारी अघि बढाइएको आयोजकले जनाएको छ।
सङ्घका महासचिव हरि कार्कीका अनुसार कार्यक्रम अवधिभर सुरक्षा, सरसफाइ, विद्युत्, खानेपानी, पार्किङ, प्राथमिक उपचार र भीड व्यवस्थापनलाई प्राथमिकतामा राखिनेछ। कार्यक्रमलाई सहज रूपमा सञ्चालन गर्न सम्बन्धित सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी तथा सरोकारवाला संस्थासँग समन्वय गरिने उनले बताए।
आयोजकले फेस्टिभललाई सभ्य, सुरक्षित, पारिवारिक र मनोरञ्जनपूर्ण बनाउने प्रतिबद्धतासमेत जनाएको छ।
एक करोड दुई लाख आम्दानीको अनुमान, १५ लाख बचत गर्ने लक्ष्य
फेस्टिभलका लागि आयोजकले एक करोड दुई लाख रुपैयाँ आम्दानी र ८७ लाख रुपैयाँ खर्च हुने अनुमान सार्वजनिक गरेको छ। अनुमानित आम्दानीमा टिकट बिक्रीबाट ८५ लाख रुपैयाँ, मुख्य प्रायोजक तथा सह–प्रायोजकबाट १० लाख रुपैयाँ र मनोरञ्जन तथा खेलकुद गतिविधिबाट सात लाख रुपैयाँ समावेश छन्।
त्यस्तै, कलाकार व्यवस्थापन, मैदान व्यवस्थापन, विद्युत् तथा बत्ती, खानेपानी, सरसफाइ, कर्मचारी पारिश्रमिक, अतिथि सत्कार, आवास, खाना, प्रचारप्रसार तथा छपाइलगायत शीर्षकमा ८७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
आम्दानी र खर्चको अनुमानअनुसार १५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ। बचत रकम सङ्घको संस्थागत विकास, व्यवसायीको हित, सामाजिक उत्तरदायित्व र आगामी कार्यक्रम सञ्चालनमा उपयोग गरिने जनाइएको छ।
फेस्टिभलको मुख्य प्रायोजक नेपालीरिका होटल रहेको छ। पार्थिभरा फुड प्रोडक्ट, चामुण्डा फुड (बेली), कञ्चनजङ्घा इन्जिनियरिङ प्रा.लि., प्रणाम इँटा, प्रिन्स इँटा, टुबोर्ग बियर, म्याक्स टाइगर इनर्जी ड्रिंक्स, ग्रिनसिटी हाउजिङ र आर.एन.जी. ग्रुप प्रायोजकका रूपमा रहेका छन्।
स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा
चाडपर्वको अवसरमा आयोजना हुन लागेको फेस्टिभललाई स्थानीय उत्पादनको बजार विस्तार, मौलिक खानाको पहिचान, सांस्कृतिक विविधताको संरक्षण र पर्यटन प्रवर्द्धनसँग जोडेर हेरिएको छ। दुई लाखभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य पूरा भएमा स्थानीय व्यापार, होटल तथा पर्यटन व्यवसाय र अन्य सेवा क्षेत्रले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ।
मनोरञ्जनसँगै स्थानीय उत्पादन र उद्यमशीलतालाई प्राथमिकता दिइएको फेस्टिभलले सुन्दरहरैँचाको आर्थिक गतिविधि चलायमान बनाउन र स्थानीय व्यवसायीका लागि नयाँ अवसर सिर्जना गर्न कत्तिको योगदान पुर्याउँछ भन्ने कुरा यसको व्यवस्थापन, दर्शक सहभागिता र स्थानीय उत्पादनको प्रभावकारी प्रवर्द्धनमा निर्भर रहनेछ।




