सिद्धार्थका १२० शिक्षकलाई एआई तालिम, कक्षाकोठामा प्रविधिको प्रयोग बढाउने तयारी

एलएन गच्छदार / सुन्दरहरैंचा

मोरङको सुन्दरहरैंचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई शिक्षण–सिकाइसँग जोड्ने तयारी थालेको छ। त्यसैको सुरुआतस्वरूप विद्यालयले आफ्ना करिब १२० जना शिक्षकलाई एआईसम्बन्धी विशेष प्रशिक्षण दिएको छ।

शिक्षकलाई बदलिँदो प्रविधिसँग अद्यावधिक गराउँदै एआईलाई कक्षाकोठामा सिर्जनात्मक, व्यावहारिक र प्रभावकारी रूपमा प्रयोग गर्न सक्षम बनाउने उद्देश्यले आइएन्जी ग्रुपको सहकार्यमा प्रशिक्षण आयोजना गरिएको हो।

समूहगत रूपमा सञ्चालन गरिएको प्रशिक्षणमा विभिन्न क्षेत्रका १० जनाभन्दा बढी एआई विज्ञ तथा प्रशिक्षक सहभागी थिए। उनीहरूले शिक्षकलाई एआईको आधारभूत ज्ञानसँगै शिक्षण सामग्री निर्माण, सिकाइ सहजीकरण, सूचना तथा सामग्री व्यवस्थापनलगायत शैक्षिक क्षेत्रमा एआईको सम्भावित प्रयोगबारे प्रशिक्षण दिएका थिए।

विद्यालयका अनुसार पछिल्लो समय विश्वभर शिक्षा क्षेत्रमा एआईको प्रयोग तीव्र रूपमा विस्तार भइरहेकाले शिक्षकलाई समयअनुकूल प्रविधिसँग परिचित गराउनु आवश्यक बनेको छ। एआईलाई सही ढंगले प्रयोग गर्न सके शिक्षणलाई थप प्रभावकारी, सिर्जनात्मक र विद्यार्थी केन्द्रित बनाउन सकिने विद्यालयको बुझाइ छ।

सिद्धार्थ सेकेण्डरी स्कुलले भने एआईलाई केवल तालिममा सीमित नराखी विद्यालयको समग्र शैक्षिक प्रणालीसँग जोड्ने तयारी गरेको छ। विद्यालयमा एआई तथा रोबोटिक्ससम्बन्धी पुस्तक र अध्ययन सामग्रीसमेत उपलब्ध गराइएको छ। विद्यार्थीलाई पनि रोबोटिक्स, एआई तथा आधुनिक प्रविधिसँग जोडेर सिकाइका अवसर प्रदान गरिँदै आएको विद्यालयले जनाएको छ।

विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले प्रविधिको तीव्र विकाससँगै शिक्षण पद्धतिमा पनि परिवर्तन आवश्यक रहेको बताए।

“आजको प्रविधिको युगमा परम्परागत शिक्षण पद्धतिमा मात्र सीमित भएर विद्यार्थीलाई भविष्यका लागि तयार गर्न सकिँदैन,” बस्नेतले भने, “एआई र रोबोटिक्सलाई शिक्षण–सिकाइसँग जोडेर विद्यार्थीमा सिर्जनात्मक सोच, खोज, अनुसन्धान र समस्या समाधान गर्ने क्षमता विकास गराउनु हाम्रो प्राथमिकता हो।”

उनका अनुसार एआईको प्रभावकारी प्रयोगका लागि विद्यार्थी मात्र होइन, शिक्षक पनि प्रविधिमा दक्ष हुन आवश्यक छ। शिक्षकलाई एआईको प्रयोगमा सक्षम बनाउन सके त्यसको प्रत्यक्ष लाभ कक्षाकोठाको सिकाइमा पुग्ने भएकाले प्रशिक्षणलाई महत्त्व दिइएको उनले बताए।

“शिक्षक प्रविधिमैत्री भए मात्र विद्यार्थीलाई प्रविधिको सही र जिम्मेवार प्रयोग सिकाउन सकिन्छ,” बस्नेतले भने, “त्यसैले हामी शिक्षकको क्षमता विकाससँगै विद्यालयको शैक्षिक वातावरणलाई नै प्रविधिमैत्री बनाउने दिशामा अघि बढिरहेका छौँ।”

सिद्धार्थले एआई र रोबोटिक्सलाई पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलापसँग जोड्दै विद्यार्थीलाई आधुनिक प्रविधिको प्रयोगकर्ता मात्र नभई प्रविधि बुझ्ने, सिर्जना गर्ने र समाधान खोज्न सक्ने जनशक्तिका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

विद्यालयले आगामी दिनमा एआई, रोबोटिक्स तथा अन्य नवीनतम प्रविधिसम्बन्धी प्रशिक्षण र गतिविधिलाई निरन्तरता दिँदै प्रविधिमैत्री शैक्षिक वातावरणलाई थप विस्तार गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *