बर्डफ्लु प्रभावित किसानलाई राहत स् एक साताभित्र ५२ करोड रुपैयाँ क्षतिपूर्ति वितरण गरिने

काठमाडौँ । बर्डफ्लु नियन्त्रणका क्रममा पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गरिएका किसानलाई सरकारले राहतस्वरूप ५२ करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ। पशुसेवा विभागले एक साताभित्र प्रभावित किसानको बैंक खातामा रकम पठाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

विभागका अनुसार बर्डफ्लु नियन्त्रण अभियानका क्रममा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको प्रमाणित क्षतिका आधारमा किसानलाई मूल्याङ्कन गरिएको रकमको ७५ प्रतिशत राहत प्रदान गरिनेछ।

पशुसेवा विभागका प्रवक्ता मुकुल उपाध्यायले आवश्यक कागजातसहित क्षतिपूर्ति दाबी गरेका किसानको बैंक खातामा एक साताभित्र रकम जम्मा गरिने जानकारी दिए। असार मसान्तसम्म प्रक्रिया पूरा गर्न नसकेका किसानलाई भने नयाँ आर्थिक वर्षमा क्षतिपूर्ति उपलब्ध गराइने उनले बताए।

विभागले बर्डफ्लु नियन्त्रण नियमावलीअनुसार प्रमाणित क्षतिको मूल्याङ्कनपछि मात्रै राहत वितरण गरिने स्पष्ट गरेको छ। त्यसका लागि प्रभावित किसानलाई पन्छी तथा पन्छीजन्य वस्तु नष्ट गरिएको सबै प्रमाणसहित सम्बन्धित जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ। बर्डफ्लुको संक्रमणबाट हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी गरी ११ जिल्ला बढी प्रभावित भएका छन्।

विभागका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको छ। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। सरकारले समयमै क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेसँगै बर्डफ्लुबाट प्रभावित किसानलाई आर्थिक राहत पुग्ने र पुनः व्यवसाय सञ्चालन गर्न केही सहज हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *