किसानका समस्या सुन्दै कामधेनु दुग्ध विकास सहकारी, समाधानका लागि संस्थागत पहल गर्ने प्रतिबद्धता
सुन्दरहरैँचा, मोरङ — इटहरी–२ स्थित कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले आफ्ना सदस्य किसानसँग प्रत्यक्ष छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ। सुन्दरहरैँचा–१ नम्बर वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा किसानले दुग्ध उत्पादन, बिक्री, पशुपालन तथा संस्थासँग सम्बन्धित विभिन्न समस्या र गुनासो राखेका थिए।
कार्यक्रममा किसानले दूधको बजार, दूधको मूल्य, पशुका लागि आवश्यक दाना तथा चोकरको गुणस्तर र मूल्य, पशु स्वास्थ्य, उन्नत जातका गाईभैंसी तथा दुग्ध उत्पादन बढाउने विषयमा आफ्ना धारणा राखेका थिए। सदस्य किसानले भोगिरहेका समस्या प्रत्यक्ष रूपमा सुन्ने र संस्थामार्फत समाधानको पहल गर्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको सहकारीले जनाएको छ।
कामधेनु दुग्ध विकास सहकारीका अध्यक्ष यादप ढकालले किसानले उठाएका समस्या र गुनासोलाई संस्थाले गम्भीर रूपमा लिएको बताए। उनले किसानको उत्पादनलाई बजारसँग जोड्ने, दुग्ध व्यवसायलाई व्यवस्थित बनाउने तथा सदस्यको आर्थिक अवस्था सुधार गर्ने विषयलाई सहकारीले प्राथमिकतामा राखेको उल्लेख गरे। किसानबाट आएका सुझावका आधारमा आवश्यक सुधार गर्दै आगामी नीति तथा कार्यक्रम अघि बढाइने उनले बताए।
अध्यक्ष ढकालले सहकारी र किसानबीच नियमित संवाद आवश्यक रहेको बताउँदै संस्थाले किसानको समस्या सुन्ने मात्र नभई सम्भव भएसम्म तत्काल समाधान र दीर्घकालीन योजनामार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाए। उनले सहकारीको विकाससँगै सदस्य किसानको आर्थिक उन्नति जोडिएको भन्दै किसानको हितबिना संस्थाको प्रगति सम्भव नहुने धारणा राखे।
कार्यक्रममा संस्थाकी प्रशासन प्रमुख भावना रेग्मीले सहकारीका सेवा, आगामी योजना तथा सदस्य किसानलाई लक्षित नीति र कार्यक्रमबारे जानकारी गराइन्। उनले किसानलाई संस्थासँग जोडेर सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, प्रशासनिक तथा सेवा प्रक्रियालाई व्यवस्थित गर्ने र किसानका सुझावलाई आगामी कार्यक्रम निर्माणमा समेटिने बताइन्।
किसानसँग प्रत्यक्ष संवादमार्फत समस्या पहिचान गरी समाधानका उपाय खोज्ने कामधेनुको प्रयासले सहकारी र सदस्यबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी किसानले आफ्ना समस्या र सुझाव संस्थाको नेतृत्वसमक्ष प्रत्यक्ष राख्न पाएको भन्दै यस्ता अन्तरक्रिया नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका थिए।
