माउन्ट मकालुमा विद्यार्थीका प्रविधिमैत्री सिर्जनाको प्रदर्शनी सम्पन्न
सुन्दरहरैँचा–३, गछिया । माउन्ट मकालु आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूले निर्माण गरेका विज्ञान, प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित विभिन्न सिर्जनाको प्रदर्शनी सम्पन्न भएको छ।
‘विद्यार्थीको सोच, प्रविधिको शक्ति र भविष्यको निर्माण’ भन्ने मूल नाराका साथ आयोजित प्रदर्शनीमा टिम क्रान्तिकारीले वेटर रोबोट, पीएएएस, क्युबस्याट, सोलारिस नोभा, कृषि बजार एप, रक्त ब्रिज र टेलिमेडिकललगायतका परियोजना प्रस्तुत गरेको थियो।
विद्यार्थीहरूले दैनिक जीवनमा देखिएका समस्या पहिचान गरी प्रविधिको प्रयोगमार्फत समाधान खोज्ने उद्देश्यले विभिन्न परियोजना निर्माण गरेका थिए। प्रदर्शनीले विद्यार्थीको सिर्जनशीलता, अनुसन्धान क्षमता, आत्मविश्वास र समस्या समाधान गर्ने सीप विकासमा सहयोग पुग्ने विद्यालयले जनाएको छ।
विद्यार्थीले निर्माण गरेको रोबोटको सहायतामा प्रदर्शनीको उद्घाटन विद्यालयका प्रिन्सिपल हेमन्त कार्कीले गरेका थिए। उनले किताबी ज्ञानसँगै व्यावहारिक तथा प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
एसटीईएम संयोजक विशाल न्यौपानेले विद्यार्थीलाई विज्ञान तथा प्रविधिसँग जोड्दै प्रयोगात्मक सिकाइमार्फत नयाँ कुरा सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए।
कक्षा १० का विद्यार्थी पाल्देन मोक्तानले विद्यार्थीलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसरसँगै प्रविधिको क्षेत्रमा थप खोज, अनुसन्धान र नवप्रवर्तनका लागि प्रेरित गर्न विद्यालयले काम गरिरहेको बताए।
प्रदर्शनीमा विद्यालयका स्कुल संयोजक रोसन लुइँटेल, शिक्षक, विद्यार्थी तथा पूर्वविद्यार्थीको सहभागिता रहेको थियो। पूर्वविद्यार्थीहरूले विद्यार्थीका परियोजनाको अवलोकन गर्दै विभिन्न सुझाव तथा सल्लाह दिएका थिए।




