कामधेनु दुग्ध विकास सहकारीको नीति तथा कार्यक्रममाथि अन्तरक्रिया सम्पन्न

दुग्ध उत्पादन, बजारीकरण, किसान प्रोत्साहन र संस्थागत सुधारलाई प्राथमिकता

एलएन गच्छदार / सुन्दरहरैंचा 

 सुनसरीको इटहरी–१, आँपगाछीस्थित रोयल रिसोर्टमा कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को कारोबार समीक्षा तथा आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित नीति, कार्यक्रम र बजेटमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष यादव ढकालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थालाई सुशासन, सदस्यमैत्री सेवा, दुग्ध उत्पादन वृद्धि, बजारीकरण विस्तार र किसानको आयआर्जन बढाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको बताउनुभयो।

अन्तरक्रियामा धनकुटा जोरपाटी शाखा प्रमुख अभिषेक थापा, कारखाना प्रमुख अशोक थापा, बचत तथा ऋण इकाई प्रमुख रेवती ओझा, भेटेनरी प्रमुख अजयकुमार साह, लेखापाल मोहन खनाल तथा व्यवस्थापक नवराज नेपालले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित प्रतिवेदन, चालु आर्थिक वर्षको समीक्षा तथा आगामी वर्षको बजेट र कार्ययोजनाबारे प्रस्तुति दिनुभएको थियो।

प्रस्तुत कार्यक्रममा सुनसरी, मोरङ, झापा, धनकुटा, इलाम, तेह्रथुमलगायत विभिन्न जिल्लाका पालिकाबाट आएका प्रतिनिधि, शेयर सदस्य तथा दुग्ध उत्पादक किसानहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले संस्था सञ्चालन, सेवा प्रवाह, दुग्ध संकलन, बजारीकरण, ऋण सुविधा, पशु स्वास्थ्य, उत्पादन वृद्धि तथा सदस्य हितका विषयमा आफ्ना राय–सुझाव राखेका थिए।

अध्यक्ष यादव ढकालले अन्तरक्रियाबाट प्राप्त सुझावहरूलाई परिमार्जन गरी आगामी वार्षिक साधारण सभामा नीति तथा कार्यक्रम र बजेट अन्तिम स्वीकृतिका लागि प्रस्तुत गरिने जानकारी दिनुभयो। उहाँले सहकारीलाई अझ प्रभावकारी, पारदर्शी र सदस्यमुखी बनाउँदै दुग्ध उत्पादक किसानको आर्थिक सशक्तीकरणमा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रस्तावित नीति तथा कार्यक्रममा सदस्य विस्तार, दुग्ध उत्पादन वृद्धि, पशु स्वास्थ्य सेवा, सहुलियत कर्जा, आधुनिक प्रविधिको प्रयोग, दुग्ध प्रशोधन क्षमता विस्तार, बजार व्यवस्थापन, किसान प्रोत्साहन कार्यक्रम, संस्थागत सुशासन तथा डिजिटल प्रविधिमार्फत सेवा विस्तारजस्ता विषयलाई प्राथमिकताका साथ समेटिएको संस्थाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *