स्वास्थ्य बीमा सुधारको तयारीमा सरकार, दिगो प्रणाली निर्माणमा जोड
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा बढ्दो आर्थिक दायित्व र व्यवस्थापन सम्बन्धी चुनौती देखिएपछि सरकारले यसलाई दीर्घकालीन रूपमा टिकाउ र प्रभावकारी बनाउने गरी पुनर्संरचना गर्ने तयारी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान स्वास्थ्य बीमा प्रणालीमा सुधार आवश्यक रहेको भन्दै यसको यथार्थ मूल्यांकनका आधारमा नयाँ ढाँचा तयार गरिने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्य बीमासम्बन्धी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले स्वास्थ्य बीमाको विषय अहिले जटिल अवस्थामा पुगेको उल्लेख गरे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताउँदै उनले सरकारले कार्यक्रमलाई निरन्तरता दिने तर दीर्घकालीन रूपमा धान्न सकिने संरचना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार सरकारले स्वास्थ्य बीमाको बक्यौता भुक्तानीका लागि थप सात अर्ब रुपैयाँ बजेट व्यवस्थापन गरिसकेको छ। यद्यपि अझै पनि केही दायित्व बाँकी रहेकाले त्यसको भुक्तानीका लागि आवश्यक उपाय खोजिँदै छ। उनले असीमित रूपमा दायित्व थप्दै जाने अवस्था अन्त्य गर्न सुधारको प्रक्रिया अघि बढाइएको स्पष्ट पारे।
मन्त्री वाग्लेले स्वास्थ्य बीमालाई ‘युनिभर्सल हेल्थ कभरेज’ अर्थात् सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने अवधारणाअनुसार अघि बढाइने बताए। तर हाल सञ्चालनमा रहेको प्रणालीमा केही दुरुपयोग तथा व्यवस्थापनका कमजोरी देखिएकाले त्यसलाई नियन्त्रण गरेर मात्रै कार्यक्रमलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो।
उनले विशेषगरी आर्थिक रूपमा कमजोर, विपन्न तथा असहाय नागरिकलाई स्वास्थ्य बीमाको प्रिमियम तिर्न बाध्य पार्न नहुने धारणा राखे। त्यस्ता वर्गलाई राज्यले अनुदान उपलब्ध गराएर स्वास्थ्य बीमाको पहुँचभित्र ल्याउनुपर्नेमा उनले जोड दिए।
स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकलाई उपचार सेवामा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा आए पनि पछिल्ला वर्षहरूमा अस्पतालको भुक्तानी बक्यौता, बढ्दो खर्च, सेवा दुरुपयोग तथा व्यवस्थापनका समस्याका कारण चुनौतीपूर्ण बन्दै गएको छ। सरकारले अब सुधारिएको नीति, स्पष्ट मापदण्ड र लक्षित अनुदान प्रणालीमार्फत स्वास्थ्य बीमालाई थप विश्वसनीय र दिगो बनाउने तयारी थालेको जनाएको छ।
