उर्लाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी, एक बालकको अवस्था गम्भीर

मोरङ । मोरङको उर्लाबारीमा बारीमा उम्रिएको जंगली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन्। बिरामीमध्ये एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उर्लाबारी नगरपालिका–४ आइतबारे निवासी ३६ वर्षीय भूमिराज उराउ, उनकी पत्नी ३२ वर्षीया रामकुमारी उराउ तथा छोराहरू १४ वर्षीय अर्विन उराउ र ८ वर्षीय अरुण उराउ च्याउ सेवनपछि बिरामी परेका हुन्।

प्रहरीका अनुसार उनीहरूले आइतबार बिहान आफ्नै बारीको परालमा उम्रिएको सेतो रंगको च्याउ पकाएर खाएका थिए। च्याउ सेवन गरेको केही समयपछि परिवारका सदस्यहरूमा वान्ता, पेट दुख्ने लगायतका स्वास्थ्य समस्या देखिएपछि तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।

बिरामीमध्ये ८ वर्षीय अरुण उराउको अवस्था गम्भीर रहेको छ भने अन्य तीन जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। उनीहरूको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घटनापछि इलाका प्रहरी कार्यालय उर्लाबारीले आवश्यक अनुसन्धान अघि बढाएको छ। साथै, विषालु हुन सक्ने जंगली तथा नचिनेका च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गर्दै यस्ता च्याउले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *