काँकरभिट्टा नाकाबाट ५३.८ ग्राम ब्राउन सुगरसहित काठमाडौंका युवक पक्राउ

झापा । पूर्वी सीमा नाका काँकरभिट्टामा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ठूलो परिमाणको ब्राउन सुगरसहित काठमाडौंका एक युवकलाई पक्राउ गरेको छ। भारतबाट नेपाल प्रवेश गर्दै गरेका ती युवकको साथबाट ५३ दशमलव ८०० ग्राम ब्राउन सुगर बरामद भएपछि प्रहरीले आपूर्ति सञ्जालको खोजीलाई तीव्र बनाएको जनाएको छ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले मेचीनगर–६ स्थित मेचीडाँडा क्षेत्रमा शंकास्पद अवस्थामा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्ने व्यक्ति काठमाडौंको शंखरापुर नगरपालिका–८ निवासी ३२ वर्षीय रोशन कार्की रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कार्की भारततर्फबाट मेची खोलाको बाटो हुँदै पैदल नेपाल प्रवेश गरिरहेका बेला निगरानीमा परेका थिए। शरीर तथा सामान जाँचका क्रममा उनले लगाएको पाइन्टको गोजीभित्र लुकाइराखिएको प्लास्टिकको प्याकेटबाट ५३.८ ग्राम ब्राउन सुगर बरामद गरिएको हो। प्याकेटबाहेक लागूऔषधको तौल ४८ ग्राम ६० मिलिग्राम रहेको बताइएको छ।

उनको साथबाट एक थान आइफोन १६ प्रो म्याक्स र आठ हजार रुपैयाँ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका कार्कीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक निशेष चापागाईका अनुसार बरामद भएको लागूऔषधको परिमाण व्यक्तिगत प्रयोगभन्दा धेरै भएकाले उनी कुनै आपूर्ति सञ्जालसँग आबद्ध हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको छ। लागूऔषध कहाँबाट ल्याइएको थियो, कसलाई पुर्‍याउने योजना थियो र यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको छ।

पछिल्लो समय पूर्वी नाका काँकरभिट्टा लागूऔषध ओसारपसारको प्रमुख मार्गका रूपमा देखिन थालेको छ। भारतबाट अवैध रूपमा भित्र्याइने ब्राउन सुगर लगायतका लागूऔषध काँकरभिट्टा हुँदै काठमाडौंसहित देशका विभिन्न शहरमा पुर्‍याउने सञ्जाल सक्रिय रहेको प्रहरीको निष्कर्ष छ।

प्रहरीले सीमावर्ती क्षेत्रहरूमा निगरानी थप कडा बनाएको जनाएको छ भने लागूऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउन समुदायको सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *