बाजुराको लाम्पाटामा सीमा विवादपछि तनाव, थप सुरक्षाकर्मी परिचालन

धनगढी । हिमाली गाउँपालिका–३ लाम्पाटामा सीमा विवादको विषयलाई लिएर भएको कुटपिट घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ । हुम्लाबाट आएको समूहले स्थानीय जनप्रतिनिधिसहित पाँच जनामाथि आक्रमण गरेपछि घटनास्थलतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको हो

बाजुरा को हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा सीमा विवादको विषयलाई लिएर उत्पन्न तनावपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीयको समूहले हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गारा गुरुङ सहित पाँच जनामाथि कुटपिट गरेको थियो । घटनापछि जिल्ला प्रहरी कार्यालय बाजुरा बाट प्रहरी निरीक्षक लक्ष्मीराज जोशी को नेतृत्वमा १० जनाको प्रहरी टोली लाम्पाटातर्फ पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाही का अनुसार लाम्पाटाको वस्तुगत अवस्था बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ गएको हो ।उनका अनुसार शनिबार प्रस्थान गरेको टोली आइतबार मात्र लाम्पाटा पुग्नेछ । सशस्त्र प्रहरी टोलीको नेतृत्व प्रहरी सहायक निरीक्षकले गरिरहेका छन् ।

सीमा विवादसँगै लाम्पाटामा प्रहरी चौकी निर्माणको विषयलाई लिएर पनि विवाद चर्किएको बताइएको छ । घटनामा घाइते भएका वडा सदस्यसहितका व्यक्तिहरूको काठमाडौंमा उपचार गरिएको थियो । प्रहरीका अनुसार घाइते सबैको स्वास्थ्य अवस्था सामान्य भएपछि उनीहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

यसअघि ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ अभियानअन्तर्गत गोपाल हमाल नेतृत्वको टोली साइपाल बेसक्याम्पतर्फ गएको थियो । तर स्थानीयको अवरोधका कारण टोली गन्तव्यमा पुग्न नसकी बीचबाटै फर्किएको थियो । सीमा विवादको विषयले स्थानीय तहबीच तनाव बढेपछि प्रशासनले थप निगरानी र समन्वय बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *