विराटचोकमा आशिन जापानी भाषा तथा सांस्कृतिक केन्द्र उद्घाटन, युवालाई जापान केन्द्रित शिक्षा र अवसरमा जोड

एलएन गच्छदार
सुन्दरहरैंचा (मोरङ) । मोरङको सुन्दरहरैंचा–९, विराटचोकमा स्थापित आशिन जापानी भाषा तथा सांस्कृतिक केन्द्रको आज एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ। केन्द्रको उद्घाटन सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिव प्रसाद ढकाल ले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै ढकालले स्थानीय स्तरमै अन्तर्राष्ट्रिय भाषा तथा सीप सिक्ने अवसर विस्तार हुनु सकारात्मक उपलब्धि भएको बताए। “यस्ता संस्थाहरूले युवाहरूलाई अध्ययन र रोजगारीका अवसरसँग जोड्दै आत्मनिर्भर बन्न सहयोग पुर्‍याउँछन्,” उनले उल्लेख गरे।

केन्द्रका सञ्चालक महेश न्यौपानेयादव पौडेलले जापानी भाषा तथा संस्कृतिको गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए। उनीहरूका अनुसार जापान जान इच्छुक विद्यार्थीहरूलाई लक्षित गर्दै भाषा कक्षा, सीप परीक्षण तयारी, अन्तर्वार्ता तयारी तथा कागजात व्यवस्थापन सेवा प्रदान गरिनेछ।

त्यसैगरी, विराटचोक आशिन ग्रुपका अध्यक्ष आयुस न्यौपाने ले सन् २०१९ देखि नै जापानमा कामदार भिसा तथा विद्यार्थी भिसामार्फत नेपालीहरूलाई सहयोग, परामर्श र मार्गदर्शन गर्दै आएको जानकारी दिए। उनले जापानी भाषा मात्र नभई त्यहाँको संस्कृति र कार्यशैलीबारे समेत प्रशिक्षण दिँदै आएको उल्लेख गरे।

कार्यक्रममा केन्द्रमार्फत जापानी भाषा कक्षा (एन–५, एन–४ र एन–३) सञ्चालन गरिने तथा उद्घाटनको अवसरमा विद्यार्थीहरूका लागि निःशुल्क कक्षा समेत उपलब्ध गराइने जानकारी गराइएको थियो।

विराटचोकस्थित उक्त केन्द्रले जापान अध्ययन तथा रोजगारीका लागि इच्छुक युवाहरूलाई लक्षित गर्दै भाषा, सीप र आवश्यक प्रक्रिया सम्बन्धी समग्र सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *