सुन्दरहरैंचामा शिक्षा र संस्कृतिको उत्सव : हिमालय इङ्ग्लिस स्कुल को १०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

सुन्दरहरैंचा — मोरङको सुन्दरहरैंचा–१० मा अवस्थित हिमालय इङ्ग्लिस स्कुलको १०औँ वार्षिक उत्सव तथा अभिभावक दिवस उल्लास, उमङ्ग र भावनात्मक वातावरणबीच भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसर आकर्षक सजावट, सांस्कृतिक धुन र विद्यार्थीहरूको उत्साहले झलमल बनेको थियो।

कार्यक्रम विद्यालयका प्रिन्सिपल कमल खनाल को अध्यक्षता तथा सुन्दरहरैंचा–१२ का वडा अध्यक्ष एवं नगर प्रवक्ता रोशन प्रसाद ढकाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। समारोहमा विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा विविध सांस्कृतिक प्रस्तुतिमार्फत अभिभावक र अतिथिहरूलाई मन्त्रमुग्ध बनाएका थिए। विशेष आकर्षणका रूपमा आयोजित डान्स आइडल र सिङ्गिङ आइडलको फाइनल प्रतिस्पर्धाले कार्यक्रमलाई थप रोमाञ्चक बनाएको थियो, जहाँ सहभागी विद्यार्थीहरूको आत्मविश्वास र सशक्त मञ्च प्रस्तुति उल्लेखनीय देखिन्थ्यो।

अध्यक्ष खनालले विद्यालयको १० वर्षे यात्रालाई संघर्ष, समर्पण र विश्वासको परिणाम भएको उल्लेख गर्दै भने, “सीमित स्रोतबाट सुरु गरिएको यात्रालाई यहाँसम्म पुर्‍याउन विद्यार्थी, अभिभावक र शिक्षकहरूको निरन्तर साथ र विश्वास नै हाम्रो मुख्य शक्ति हो। वार्षिकोत्सव केवल उत्सव मात्र होइन, यो हाम्रो सामूहिक प्रतिबद्धता र सपनाको अभिव्यक्ति हो।” उनले आगामी दिनमा विद्यालयलाई अझ गुणस्तरीय, प्रविधिमैत्री र नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रमुख अतिथि ढकालले विद्यालयको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै स्थानीय शिक्षा विकासमा संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने, “यस विद्यालयले छोटो समयमै हासिल गरेको उपलब्धि सुन्दरहरैंचाका लागि गर्वको विषय हो। विद्यार्थीहरू भविष्यका नेतृत्वकर्ता हुन्, र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा विद्यालयले खेलेको भूमिका अत्यन्त प्रशंसनीय छ।”

वार्षिकोत्सवका अवसरमा विद्यालयका गतिविधिहरू सञ्चारमाध्यममार्फत विश्वसामु पुर्‍याएको भन्दै पत्रकारहरूलाई सम्मान गरिएको थियो। साथै डान्स आइडल र सिङ्गिङ आइडलका विजेता तथा उपविजेता विद्यार्थीहरूलाई मेडलसहित सम्मान गरिनुका साथै अभिभावकहरूको नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो। विद्यालयमै पहिलो पटक “ओमेगा जम्प” प्रदर्शनी प्रस्तुत गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमभर अभिभावकहरूको सक्रिय सहभागिता, तालीको गडगडाहट र विद्यार्थीहरूको मुस्कानले वातावरणलाई पारिवारिक र आत्मीय बनाएको थियो। आयोजकका अनुसार यस उत्सवले विद्यालय र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै विद्यार्थीहरूमा आत्मविश्वास, सिर्जनशीलता र सामाजिक भावना विकास गर्ने उद्देश्य सफल भएको छ। कार्यक्रमको अन्त्यमा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यालय प्रशासनले सम्पूर्ण सहभागी र सहयोगीप्रति कृतज्ञता व्यक्त गरेको थियो।

प्रतियोगिताका नतिजा
अभिभावक नृत्यतर्फ प्रथम तारा ओझा, द्वितीय गंगा सुवेदी र तृतीय भावना भण्डारी भएका छन्। डान्स आइडलतर्फ श्रेया चौधरी प्रथम, रोशना चौधरी द्वितीय र स्मारिका शेढाई तृतीय भएका छन्। सिङ्गिङ्गतर्फ आयोनी राई प्रथम, जेनिश बिष्ट द्वितीय र रिजन खत्री तृतीय भएका छन्। स्टुडेन्ट अफ द इयरअन्तर्गत सिनियरतर्फ आयोनी राई र जुनियरतर्फ श्रीष्टिका सेढाई सम्मानित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *