सुन्दरहरैँचामा रेडक्रसको युवा ऊर्जा: सेवा, नेतृत्व र मानवताको पाठ

एलएन गच्छदार / सुन्दरहरैंचा 

मोरङ जिल्लामा युवा पुस्तालाई मानवीय सेवातर्फ उन्मुख गराउने उद्देश्यले ४३औँ जिल्ला स्तरीय जुनियर युवा रेडक्रस सर्कल गोष्ठी सुन्दरहरैँचामा सुरु भएको छ। नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको आयोजना तथा साजीलाल माध्यमिक विद्यालय को आतिथ्यमा भएको उक्त गोष्ठी फागुन ८ र ९ गते सुन्दरहरैँचा स्थित विद्यालय परिसरमा सञ्चालन भइरहेको हो।

गोष्ठीको उद्घाटन समारोहका प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाई ले युवाहरूलाई समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्दै रेडक्रसको मानवीय अभियानमा सहभागी हुन आह्वान गर्नुभयो। कार्यक्रममा नेपाल रेडक्रस मोरङका मन्त्री सुरेन्द्र गिरी ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने मोरङ शाखाका सभापति सुकदेव प्रसाद मण्डल ले संस्थाको उद्देश्य र आगामी योजनाबारे प्रकाश पार्नुभयो।

कार्यक्रममा पूर्व सर्कल संरक्षक तथा पूर्व शिक्षकहरूलाई सम्मान गरिएको थियो। साथै विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ। जिल्लाभरका विद्यालयहरूबाट आएका जुनियर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थी, शिक्षक प्रतिनिधि तथा रेडक्रसकर्मीहरूको उल्लेखनीय सहभागिताले गोष्ठीलाई उत्साहपूर्ण बनाएको छ।

गोष्ठीमा विपद् व्यवस्थापन, प्राथमिक उपचार, नेतृत्व विकास, सामाजिक सेवा तथा मानवता सम्बन्धी सचेतनामूलक प्रशिक्षण र अन्तरक्रिया सत्र सञ्चालन गरिएको छ। यस्ता अभ्यासले विद्यार्थीहरूमा सेवा भावना, अनुशासन र सहकार्यको संस्कार विकास गर्दै समाजप्रति उत्तरदायी नागरिक बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

विद्यालय व्यवस्थापन तथा स्थानीय सरोकारवालाहरूको सहकार्यले कार्यक्रम सफलतापूर्वक सञ्चालन भइरहेको जानकारी विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्ले ले दिनुभयो। पहिलो दिनको कार्यक्रमको सञ्चालन सुमन सुवेदी ले गर्नुभएको थियो।

युवा पुस्तालाई मानवीय सेवामा जोड्दै समुदायस्तरमा सचेतना विस्तार गर्ने लक्ष्यका साथ रेडक्रसले यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको छ। सुन्दरहरैँचामा भइरहेको यो गोष्ठी पनि त्यही निरन्तर प्रयासको सशक्त उदाहरणका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *