सिद्धार्थ स्पोर्ट्स मिट २०८२ : शिक्षा, खेल, संस्कार र प्रविधिको संगम
एलएन गच्छदार / सुन्दरहरैंचा
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कक्षा कोठाभन्दा बाहिरका गतिविधि पनि उत्तिकै महत्वपूर्ण हुने यथार्थलाई आत्मसात् गर्दै मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलले ‘सिद्धार्थ स्पोर्ट्स मिट २०८२’ सञ्चालनमा ल्याएको छ। तीन दिनसम्म चल्ने उक्त खेलकुद महोत्सव विद्यालयको वार्षिक पात्रोमै प्रतिक्षित कार्यक्रमका रूपमा स्थापित हुँदै आएको छ।
स्पोर्ट्स मिटमा पि.जी.देखि कक्षा १२ सम्मका करिब २ हजार ५ सय विद्यार्थीहरूको सहभागिता रहने विद्यालयले जनाएको छ। प्रतिस्पर्धात्मक खेलमार्फत प्रतिभा पहिचान गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगितामा करिब ७ सय विद्यार्थीहरू विभिन्न विधामा विजेता घोषित हुने अपेक्षा गरिएको छ।
खेलकुद कार्यक्रमलाई विद्यार्थीमै सीमित नराखी अभिभावकहरूका लागि समेत मनोरञ्जनात्मक तथा प्रतिस्पर्धात्मक खेलहरू समावेश गरिएको छ। यसले विद्यालय–अभिभावक–विद्यार्थीबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ।
स्पोर्ट्स मिटअन्तर्गत फुटबल, कबड्डी, भलिबल, बास्केटबलजस्ता टिम खेलका साथै व्यक्तिगत दौड, हाइजम्प, लङजम्प, सटपुट लगायतका एथलेटिक्स विधाहरू समावेश गरिएका छन्। खेल व्यवस्थापनदेखि नतिजा अभिलेखसम्म प्रविधिको प्रयोग गर्दै पारदर्शी र व्यवस्थित सञ्चालनमा जोड दिइएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अनुशासन, सहकार्य र नेतृत्व विकासका लागि यस्ता कार्यक्रम अपरिहार्य रहेको उल्लेख गर्नुभयो। “खेल जित्ने–हार्नेभन्दा पनि जीवन जित्ने पाठ सिकाउने माध्यम हो,” उहाँको भनाइ थियो।
त्यस्तै, सहायक प्रिन्सिपल जे.बी. थुलुङले खेलकुदमार्फत विद्यार्थीहरूमा प्रतिस्पर्धी भावना, आत्मविश्वास र सकारात्मक सोच विकास हुने बताउँदै शिक्षा र खेललाई संस्कारसँग जोड्दै प्रविधिको सहायतामा विद्यालयले समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
शिक्षा, खेल, संस्कार र प्रविधिलाई एउटै धारमा जोड्ने प्रयासस्वरूप सिद्धार्थ स्पोर्ट्स मिट २०८२ केवल खेलकुद प्रतियोगिता मात्र नभई अनुशासित, सक्षम र आत्मविश्वासी नागरिक उत्पादन गर्ने अभ्यासका रूपमा स्थापित हुँदै गएको देखिन्छ।
