नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न

 

सुन्दरहरैंचा /अषाढ २ गते

परोपकार महिला समूहको आयोजनामा तथा सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ कार्यालयको आर्थिक सहयोगमा पाँच दिने “नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम” सम्पन्न भएको छ।

समापन समारोहमा नगर उप–प्रमुख अकली चौधरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा चौधरीले सहभागी महिलाहरूलाई सामाजिक परिवर्तनका लागि अग्रसर हुन प्रेरणा दिँदै यस्ता तालिमहरू महिलाको सशक्तीकरणका लागि आवश्यक रहेको धारणा व्यक्त गरिन्।

कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठले तालिमले नेतृत्व र उद्घोषण जस्ता जीवन उपयोगी सीपहरू विकास गर्ने सशक्त आधार तयार पारेको उल्लेख गर्दै महिलाहरूलाई सामाजिक उत्तरदायित्वप्रति सजग बनाउँदै नेतृत्वमा ल्याउने उद्देश्यमा सफल भएको बताए।

वडाका सदस्य तथा कार्यपालिका सदस्य रुक्मणी घिमिरेले विकासलाई पूर्वाधारमा मात्र सीमित नगरी समावेशी सामाजिक दृष्टिकोण अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता तालिमहरूले महिलाको सहभागिता र क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्।

संस्थाकी अध्यक्ष निरु बन्जगाईंले तालिमको मूल उद्देश्य महिलाहरूलाई सामाजिक परिवर्तनका नेतृत्वकर्ताका रूपमा तयार पार्नु रहेको बताउँदै समूहले सिपमूलक र क्षमता विकासमुखी कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको जानकारी गराइन्।

प्रशिक्षक एलएन गच्छदारले प्रशिक्षण प्रदान गर्ने अवसर दिएकोमा आयोजक संस्था, सहभागी प्रशिक्षार्थी र वडा कार्यालयप्रति आभार व्यक्त गर्दै तालिममा सहभागिता, अनुभव आदान–प्रदान र व्यवहारिक अभ्यासमा जोड दिएको बताए। उनले सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास, मोटिभेसनल भिडियो, अडियो/भिडियो सामग्री, खेल विधि, उद्घोषण अभ्यास, संवाद र प्रस्तुतीकरणमार्फत सहभागीहरूलाई सक्रिय बनाइएको उल्लेख गरे।

सहभागी प्रशिक्षार्थीहरू सुनिता खरेल, निता श्रेष्ठ, तारा मैनाली, सारदा पाण्डे लगायतले तालिमबाट आत्मविश्वास, उद्घोषण कला, नेतृत्वदायी क्षमता र सामाजिक उत्तरदायित्वबारे महत्वपूर्ण ज्ञान प्राप्त भएको अनुभव साझा गरे।

तालिमका उद्देश्यहरू व्यवहारिक, सामाजिक र दिगो विकासमा आधारित रहेकामा सहभागीहरूलाई दक्ष, उत्तरदायी र आत्मविश्वासी जनशक्ति बनाउनेतर्फ केन्द्रित गरिएको थियो।

कार्यक्रममा कार्यपालिका सदस्य बबिता खापुङ, संस्थाका सल्लाहकार तारा घिमिरे, वडा सचिव अनिल पोखरेल, वडा सदस्यहरू सारदा विक, उमा दाहाल, गंगा विक लगायतको उपस्थिति रहेको थियो। ३० जना सहभागी  रहेको सो तालिम ५ दिन सम्म चलेको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *