आज माघे संक्रान्ति, राष्ट्रपति, प्रधानमन्त्रीले दिए शुभकामना
इटहरी । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । थारु र मगर समुदायले विशेष रुपमा यो पर्व मनाउछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।पर्वका अवसरमा विभिन्न ठाउँमा माघी विशेष मेलासमेत लागेका छन् । जहाँ थारु समुदायका परम्परागत र सांस्कृतिक प्रस्तुतिको प्रदर्शन गरिएको छ ।
माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा पनि आज मेलासमेत लाग्ने गर्छ ।
माघी पर्वको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्यायाएको विश्वास व्यक्त गरेकी छन् । माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।
‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु’, शुभकामना सन्देशमा भनिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन् ।
थारू तथा मगर समुदायलगायत समुदायले मनाउने चाड माघे सङ्क्रान्तिको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेको सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको बताए । प्रधानमन्त्री प्रचण्डले यस पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न तथा यस पर्वलाई राष्ट्रिय एकता, सद्भाव र सहकार्यलाई थप बलियो बनाउने ऐतिहासिक अवसरमा रूपमा मनाउन अपिल गरेका छन् ।
