द राइजिङ्ग इङ्गलिस स्कुलको स्वागत, पुरस्कार वितरण तथा दीक्षान्त समारोह २०८२ भव्य रूपमा सम्पन्न

एलएन गच्छदार / सुन्दरहरैंचा
मोरङ सुन्दरहरैंचा नगरपालिका वडा – १० बिराटचौक स्थित ‘द राइजिङ्ग इङ्गलिस बोर्डीङ्ग स्कुलले स्वागत, पुरस्कार वितरण तथा दीक्षान्त कार्यक्रम २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति मोरङका अध्यक्ष अजम्बर राईले गर्नुभयो। उद्घाटन गर्दै अध्यक्ष राईले विद्यालयको शिक्षात्मक प्रगतिको प्रशंसा गर्दै भविष्यमा अझ उत्कृष्ट योगदान दिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न आकर्षक सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो, जसमा विद्यार्थीहरूले नृत्य, गायन तथा अभिनय प्रस्तुत गर्दै दर्शकहरूलाई मन्त्रमुग्ध पारे।

संस्थापक प्रिन्सिपल गोपाल प्रसाद पाठकले विद्यालयको प्रारम्भदेखि हालसम्मको यात्राबारे प्रकाश पार्दै विद्यालयलाई उत्कृष्ट शिक्षण संस्थाका रूपमा स्थापित गर्न सबैको योगदान सराहनीय रहेको बताउनुभयो।

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा सुरु गरिएको थियो। अध्यक्ष थापाले विद्यालयले अनुशासन, गुणस्तरीय शिक्षा र नैतिक शिक्षालाई प्राथमिकता दिँदै उत्कृष्ट शैक्षिक वातावरण निर्माण गरेको धारणा व्यक्त गर्नुभयो।

स्वागत मन्तव्य विद्यालयका भाइस प्रिन्सिपल परशुराम गुरागाईंले व्यक्त गर्नुभएको थियो। उहाँले विद्यालयको आगामी योजनाहरू, नयाँ प्रविधिको प्रयोग र विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको चर्चा गर्नुभयो।

विद्यालयले हालसम्म शैक्षिक क्षेत्रमा निरन्तर प्रगति गर्दै समाजमा उदाहरणीय उपस्थिति जनाइरहेको छ। उक्त कार्यक्रमले विद्यार्थी, अभिभावक र स्थानीय समुदायमा विद्यालयप्रति थप विश्वास र उत्साह जागृत गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *