इटहरी–१९ मा वडा स्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिता सम्पन्न
इटहरी उपमहानगरपालिका–१९ मा वडा बाल सञ्जालको आयोजना, वडा कार्यालयको सहयोग तथा नमुना एकेडेमी इटहरी–१९ को समन्वयमा दुई दिवसीय वडा स्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम बैशाख २९ र ३० गते सम्पन्न भएको हो।
प्रतियोगिता वडा बाल सञ्जालका अध्यक्ष सुसान्त भट्टराईको अध्यक्षता तथा वडा नं. १९ का अध्यक्ष श्री नारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडाका जनप्रतिनिधि, वडा सचिव, वडा बाल अधिकार समिति, स्थानीय बालमैत्री समिति, तथा वडाभित्रका सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
छात्रतर्फको खेलमा सयपत्री शिशु सदन इङ्गलिस विद्यालय प्रथम र नमुना एकेडेमी द्वितीय स्थान हासिल गर्न सफल भए। छात्रातर्फ भने नमुना एकेडेमीले प्रथम स्थान र फुजिसान सगरमाथा बोर्डिङ स्कुलले द्वितीय स्थान प्राप्त गरे।
बिजेता तथा उपबिजेता टोलीलाई नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरियो। पुरस्कार वितरण कार्यक्रम सञ्जाल अध्यक्ष सुसान्त भट्टराई, वडा अध्यक्ष श्रीनारायण चौधरी, वडा सदस्य शर्मिला विक, वडा सचिव विष्णुमाया सम्बाहाम्फे, बालमैत्री सहजकर्ता मोहम्मद प्रबेज अन्सारी, र नमुना एकेडेमीका प्राचार्य थरेन्द्र अधिकारी लगायत अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष चौधरीले वडालाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्य अनुरूप यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। कार्यक्रम संयोजक शर्मिला बिकले बाल अधिकारका क्षेत्रमा प्रतिबद्धताका साथ काम गरिरहेको बताइन्। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि सहित करिब ३०० जनाको उपस्थिति रहेको थियो।